विद्युतीय गाडीमा बढ्दो आकर्षण, ८ महिनामा २२ सय गाडी नेपाल आयो, भारतबाट धेरै

शुक्र गिरी
२०७९ चैत्र ८ गते १७:४९ | Mar 22, 2023
विद्युतीय गाडीमा बढ्दो आकर्षण, ८ महिनामा २२ सय गाडी नेपाल आयो, भारतबाट धेरै


काठमाडौं। चालु आथिक वर्षको आठ महिनामा ६ अर्ब १६ करोड बराबरको २१९८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा २१९८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।

Tata
GBIME
Nepal Life

यो संख्या अघिल्लो वर्षभरी कुल आयात भन्दा धेरै हो। अघिल्लो वर्ष १८ सय ७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका थिए।

विभागका अनुसार फागुनमा मात्र १८९ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। त्यो आयातबाट सरकारले १५ करोड ५३ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। तर यी गाडीहरु खरिद गर्न भने ५३ करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ।

तथ्यांक अनुसार अहिलेसम्म ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँको विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका हुन्। यसबाट सरकारले १ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागले जनाएको छ।

यो अवधिमा सबैभन्दा धेरै भारतबाट ४ अर्ब २५ करोड ५८ लाख रुपैयाँको १५७१ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी आयात हुन्छ। तर पछिल्लो समय महिन्द्राले पनि भारतबाट विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको छ।

यसैगरी, चीनबाट ९० करोड ७५ लाख बराबरको ३६८ युनिट विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको छ। जसमा नेटा भी, बीवाइडी, एमजी लगायत अन्य ब्रान्डहरु चीनबाट आयात हुन्छन्। यस्तै टेस्लाको गाडी पनि पछिल्लो समय चीनबाटै आयात गर्न थालिएको छ।

तथ्यांक अनुसार कोरियाबाट यो अवधिमा ९७ करोड ५६ लाख रुपैयाँको २५२ युनिट विद्युतीय गाडी आयात भएका छन्। जसमा हुन्डाईको आयोनिक ५, कोना इभीहरु नेपालमा बिक्री हुँदै आएका छन्।

यसैगरी, इन्डोनेसियाबाट ६४ लाख रुपैयाको ३ युनिट, अमेरिकाबाट २ करोड २७ लाख बराबरको ४ वटा  विद्युतीय गाडी आयात भएका छन्।

सो अवधिमा सबैभन्दा बढी १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। विभागका अनुसार यो अवधिमा नेपालमा ५ अर्ब ९० करोड बराबरको २१ सय ३९ युनिट १०० किलोवाटभन्दा कम रेन्जको विद्युतीय सवारी साधन आयात भएको छ।

त्यसैगरी, १०० किलोवाटदेखि २०० किलोवाटसम्मको १२ करोड २२ लाख बराबरको ५२ युनिट र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ४ करोड ६५ लाख बराबरको ७ युनिट विद्युतीय जीप, कार र भ्यान आयात भएको छ।