
काठमाडौं। विद्युतीय गाडी उत्पादक चिनियाँ कम्पनी बीवाइडी र एमजीबीच नेपालमा गाडी बेच्न बिगफाइट सुरु भएको छ। बीवाइडीको सय किलोवाटको एटो-३ र एमजीको जेड एसबीच बिगफाइट भएको हो।
बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंन्कले सय किलोवाटको एटो-३ सार्वजनिक गर्यो। भित्रभित्रै तयारी थालेको एमजीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले पनि फाष्ट ट्रयाकमा सय किलोवाटको जेड एस ल्याउँदैछ। यी दुई कम्पनीको सय किलोवाटको गाडी करिबकरिब एकै पटक नेपाली भूमिमा आइपुग्नेछ।
सरकारले बजेटमार्फत सय किलोवाट भन्दा माथिका गाडीमा कर बढाएपछि दुबै कम्पनीको गाडी बिक्री भएन। त्यसपछि भित्रभित्रै पारामाउण्टले सय किलोवाट ल्याउने तयारी गरेको जानकारी पाउनेवित्तिकै साइमेक्स इन्कले पनि धमाधम आफ्नो प्रक्रिया अगाडि बढायो। त्यसैले दुबै कम्पनीको गाडी लगभग एउटै समयमा नेपालमा सिपमेन्ट हुने स्रोतले बतायो। दुबै गाडी एकैपटक आउने भएपनि मूल्यमा भने पारामाउण्टले बाजी मारेको छ।
साइमेक्सले १०० किलोवाटको एटो-३ लाई प्रति युनिट ६४ लाख ९० हजारमा बुकिङ लिइरहेको छ। बुकिङ गर्नेलाई कम्पनीले गाडी आगामी अप्रिल अन्तिमसम्ममा डेलिभरी दिने जनाएको छ।
१०० किलोवाटको एमजी जेड एस भने ५४ लाख रुपैयाँ हाराहारीमा राख्ने पारामाउण्टले निश्चित गरेको छ। ‘१०० किलोवाटको जेडएस इभीको मूल्य ५५ लाखभन्दा कम हुन्छ,’ स्रोतले बिजमाण्डूसँग भन्यो, ‘डलरको भाउ नबढेको भए यसको मूल्य लगभग ५१ लाख रुपैयाँको हाराहारीमा हुने थियो। तर, अहिले डलरको बढेको भाउले सिपिङ चार्जदेखि सबै कुराको लागत बढेको छ। त्यसैले जेड एस इभी १०० किलोवाटको मूल्य ५४ लाख हुने अनुमान छ। बढी भइहाले पनि ५५ लाखभन्दा माथि जाँदैन।’
यो गाडीमा मोटरपावर मात्र घटाइएको कम्पनीको दाबी छ। रेन्ज र अन्य फिचर पहिलाको जस्तै छ। बीवाइडीले पनि मोटरको मात्र पावर घटाएको जनाएको छ। बजारमा प्रतिष्पर्धा गर्दै आउन लागेका एमजीको जेडएस इभी र बीवाइडीको एटो-३ को ब्याट्री क्षमता फरक छ।
१०० किलोवाटको जेड एसमा ५१.१ किलोवाट क्षमताको ब्याट्री छ। बीवाइडीको एटो-३ मा ६० किलोवाट क्षमताको ब्याट्री छ। यी दुवै गाडीको माइलेज रेन्ज उस्तै-उस्तै छ। एकपटकको फुल चार्जमा बीवाइडी एटो-३ को ४२० किलोमिटर र एमजी जेडएस इभीको ३१९ किलोमिटरको दाबी गरिएको छ। यस्तै, ७२.१ किलोवाट ब्याट्रीले भने ४२९ किलोमिटर रेन्ज दिने एमजीको दावी छ।
यसैगरी, बिवाइडीले पनि एटो ३ लाई कम ब्याट्री पावरमा पनि ल्याउने तयारी थालेको छ।
यद्यपि पारामाउन्टले बुकिङ खुला गरिसकेको छैन।
बीवाइडीले १५० किलोवाटको एटो-३ लाई ८९ लाख ९० हजारमा नेपाली बजारमा बिक्री गरेको छ। सो मोडल करिब ७० वटा बिक्री भएको साइमेक्सले जनाएको छ। १५० किलोवाटको एटो-३ बजारमा आएलगत्तै एमजीले जेड एस इभीको लङ रेन्ज पनि ल्याएको छ।