
काठमाडौं। बीवाइडीपछि एमजीको पनि १०० किलोवाट क्षमताको गाडी नेपाली बजारमा आउने निश्चित भएको छ। नेपालका लागि मागअनुसारको उत्पादन पठाउन निर्माता कम्पनीले सकारात्मक रहेको जवाफ दिएको छ।
भन्सार र अन्त:शुल्क दुवै बढेर नेपाली बजारमा गाडी बिक्री नै गर्न नसक्ने अवस्था आएपछि एमजीको बिक्रेता कम्पनी पारामाउन्ट मोटर्सले किलोवाट घटाएर विद्युतीय गाडी ल्याउने योजना बनाएको थियो।
सोही अनुसार पारामाउन्टले उत्पादक कम्पनी एमजीलाई किलोवाट घटाएर बनाइदिन आग्रहसहितको प्रक्रिया थालेको थियो। तर, उत्पादकले एमजी जेड एसलाई किलोवाट घटाएर बनाउन सक्ने/नसक्ने जवाफ दिन निकै समय लगाएको बिक्रेता कम्पनीका एक कर्मचारीले बताए।
‘हामीलाई उत्पादकले बल्ल किलोवाट घटाएर गाडी दिन सकिने जवाफ पठाएको छ,’ उनले भने, ‘अब हाम्रो इभी पनि १०० किलोवाट क्षमतामा आउने पक्का भएको छ। उत्पादक किलोवाट घटाएर गाडी पठाउन सहमत भएको छ।’
एमजीको जेड एस बजारमा निकै सफल मोडलमा पर्छ। नयाँ गाडी कहिलेसम्म नेपाल आइपुग्छ भन्ने मिति निश्चित भने भइसकेको छैन। ‘१०० किलोवाटका गाडीको उत्पादन सुरु भइसकेको छ,’ ती कर्मचारीले भने, ‘सामान्य अवस्था पनि अर्डरका गाडी उत्पादकबाट डेलिभरी भएर नेपाल आइपुग्न २ देखि ३ महिना लाग्छ। हाम्रो मागअनुसारका मोडल डेलिभरी दिन उत्पादकले त्योभन्दा ढिला गर्दैनन्।’
पारामाउन्टले एमजीसँग साइमेक्स इन्क भन्दा अगाडि नै प्रक्रिया अघि बढाएको थियो। एमजीभन्दा बीवाइडीले छिटो गरिदिँदा साइमेक्सलाई बजारमा सहज भएको छ।
बीवाइडीले केही दिन अघि १०० किलोवाटका एटो-३ नेपाल ल्याउने घोषणा गर्दै बुकिङ नै खुला गरिसकेको छ। एटो-३ को मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ। कम्पनीले मार्चको अन्तिमसम्म गाडी डेलिभरी गर्ने जनाएको छ। उता एमजी जेड एसको १०० किलोवाटको मूल्य ६० लाख हाराहारी हुने अनुमान छ।
त्यसैले पनि एमजीलाई पनि १०० किलोवाट क्षमताको इभी छिटो ल्याउन बाध्यतामा परेको हो। १०० किलोवाट क्षमताभन्दा माथिका इभी पछिल्लो समय नेपालमा बिक्री हुन छाडेको छ।
बिक्रेता कम्पनीहरुले १०० किलोवाट क्षमताको इभीहरु आयात नै गर्न छाडेका छन्। पछिल्लो ६ महिनामा १०० किलोवाट क्षमताभन्दा माथिका इभीहरु लगभग ४० वटा युनिट आयात भएका छन्।

किन किलोवाट घटाएर ल्याइदैछ विद्युतीय गाडी ?
चालु आर्थिक वर्षको बजेटबाट सरकारले १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीको भन्सार र अन्त:शुल्क दुवै बढाएको थियो।
बढाइएको करले एमजी तथा बिवाइडी जस्ता कम्पनीका विद्युतीय गाडी ल्याएर बेच्न नसक्ने भएपछि किलोवाट घटाएर ल्याउने प्रक्रिया थालेका हुन्। भन्सार र अन्त:शुल्क बढेपछि पारामाउन्ट मोटर्सले चिनियाँ उत्पादक कम्पनीलाई सय किलोवाटभन्दा कमका गाडी बनाउन प्रस्ताव गरेको थियो। यस्तै साइमेक्स इंकले बीवाइडीलाई प्रस्ताव गरेको थियो।
एमजीको स्ट्यान्डर्ड भेरियन्टको १३० किलोवाट र लङ रेन्ज मोडलको १ सय १५ किलोवाट छ। यी दुवै मोडलमा १५ प्रतिशत भन्सार शुल्क थप गरी ३० प्रतिशत पुर्याइएको छ भने अन्त:शुल्क ३० प्रतिशत लाग्छ।
बजेट अघि एमजीका विद्युतीय गाडी ५१ लाख रुपैयाँबाट सुरु हुन्थ्यो। बजेटमा करको दर बढेपछि यही गाडीको मूल्य ७० लाख रुपैयाँभन्दा माथि पुगेपछि कम्पनीले आयात रोक्यो।
कम्पनीले पाँच सयभन्दा बढी गाडीको अग्रिम बुकिङ लिएको थियो। तर बजेटबाट करको दर बढेपछि कम्पनीले पुरानै मूल्यमा गाडी दिन नसकिने भन्दै बुकिङ फिर्ताका लागि आग्रह गरेको थियो। त्यसपछि झण्डै सय जनाले बुकिङ फिर्ता लिएका छन्।
पारामाउन्टमा विशाल ग्रुप र मुरारका समूहको लगानी छ।