
काठमाडौं। विद्युतीय सवारीको बजारमा चर्चित मोडल नेपाल भित्रिने टुंगो भएको छ। १०० किलोवाट क्षमताको बीवाइडी एटो-३ एक महिनापछि नेपाल आउने निश्चित भएको हो।
पछिल्लो समय सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीमा कर बढाएपछि बिक्रेता कम्पनी साइमेक्स इंकले १०० किलोवाट क्षमताको एटो-३ ल्याउने प्रक्रिया थालेको थियो। उत्पादक कम्पनी १०० किलोवाटको एटो-३ बनाएर नेपाली बजारमा पठाउन तयार भएको हो।
यो गाडी आगामी मार्च महिनामा नेपाल आउने कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन। ‘हामीले यसको मूल्य तोक्दै छौं। साथै बुकिङ पनि खुला गरिने छ,’ उनले भनिन, ‘यसको बिक्री बितरण भने मार्च महिनामा मात्र सुरु हुनेछ।’
यसको मूल्य ६० लाखदेखि ७० लाख रुपैयाँको हाराहारीमा हुने अनुमान गरिएको छ। नेपाली सवारी बजारमा एटो-३ हुन्डाईको कोना र एमजीको जेड एस इभीको प्रतिष्पर्धी हुनेछ।

नेपाली बजारमा हाल उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध छ। यसको मूल्य ८९ लाख ९० हजार रुपैयाँ छ।
मोटर पावर कम भए पनि बीवाईडी एट्टो-३ को अन्य फीचरमा भने परिवर्तन नहुने श्रेष्ठ बताउँछिन्।