
काठमाडौं। नेपाल बीमा प्राधिकरणले एक बीमा कम्पनीमा एक अभिकर्ता रहने गरी अनलाइन प्रणालीको व्यवस्था गरेको छ।
प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणालीमार्फत काम शुरु गरेको हो।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइन प्रणालीमार्फत एक बीमक एक बीमा अभिकर्ताको व्यवस्थापन गर्ने कार्यको शुभारम्भ गरेका हुन्।
अनलाइन प्रणालीका माध्यमबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि बीमा अभिकर्ताको परिचय, रहने स्थान, आबद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने र बीमा अभिकर्ताको अनुगमन गर्न सहज हुने उनले बताए।
बीमा व्यवसायमा वृद्धिसँगै बीमा अभिकर्ताको संख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बीमा अधिकर्ताले काम गर्नुपर्ने उनले जानकारी दिए।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बीमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आएमा तत्काल समाधान गर्न निर्देशन दिए। प्राधिकरणमा बीमकहरुमार्फत अनलाइन प्रणालीका माध्यमबाट हालसम्म १ लाख ६३ हजार ९ सय २५ जनाको संख्यामा बीमा अभिकर्ताले स्थायी लेखा नम्बरसमेत आवश्यक कागजात समावेश गरी आ–आफ्नो विवरण अद्यावधिक गराएका छन्।
बीमा अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएका बीमा अभिकर्ताको सङ्ख्या २ लाख २१ हजार ८ सय ५० थियो। बाँकी ५७ हजार ९ सय २५ को भने अद्यावधिक गर्ने काम प्रक्रियामा छ।
अनलाइन प्रणालीमा बीमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी बीमा कम्पनीमा काम गर्नेको संख्या ५ हजार ४५ रहेको पाइएको छ। एकभन्दा बढी बीमकमा कार्यरत बीमा अभिकर्ताहरुलाई एउटा बीमक छान्न मिल्ने व्यवस्था ‘वान टाइम पासवर्ड’ मार्फत गरिएको छ ।
साथै, अनलाइन प्रणाली मार्फत बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेल मार्फत सम्बन्धित व्यक्तिलाई जानकारी दिने व्यवस्था समेत मिलाइएको प्राधिकरणले जनाएको छ।
पछिल्लो समय एक अभिकर्ताले दुई भन्दा धेरै बीमा कम्पनीमा काम गर्दा प्रतिस्पर्धाका कारण विभिन्न घट्नाहरु हुन थालेपछि प्राधिकरणले एक बीमक एक अभिकर्ताको व्यवस्था गरेको हो।