
काठमाडौं। बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर शुक्रबार बाँटफाँट भएको छ। १४ लाख ५९ हजार आवेदकमध्ये ८ हजार ९५ जनाले १०/१० कित्ता हात पारेका छन्।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट आइपीओ बाँडफाँट गरिएको छ।
कम्पनीको सेयर बाँटफाँट निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसको कार्यालयमा भएको हो।
बिक्री प्रबन्धकका अनुसार कुल ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले उक्त ८० हजार ९५० कित्ता लघुवित्त कम्पनीको सेयर प्राप्त गरेका छन्।
कम्पनीले फागुन १८ देखि २३ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्कासन गरेको थियो। कम्पनीले उक्त मितिबाट ८० हजार ९५० कित्ता सेयर जारी गरेको थियो।

लघुवित्तको आइपीओका लागि १४ लाख ५९ हजार ७ सय ८४ जनाले आवेदन दिएका थिए। उनीहरुको १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयरका लागि आवेदन परेको थियो। उक्त आवेदनमध्ये १४ लाख ५८ हजार २७८ आवेदन स्वीकृति भएको थियो भने १ हजार १३६ आवेदन रद्द भएको मेगा क्यापिटलले जनाएको छ।