उपराष्ट्रपतिको मतदानमा किरियापुत्री सांसद बराल, ‘शोकमा छु, तर जिम्मेवारी पुरा गर्न आएँ’

बिजमाण्डू
२०७९ चैत्र ३ गते १३:१५ | Mar 17, 2023
उपराष्ट्रपतिको मतदानमा किरियापुत्री सांसद बराल, ‘शोकमा छु, तर जिम्मेवारी पुरा गर्न आएँ’


काठमाडौं। उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत हाल मतदान जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

Tata
GBIME
Nepal Life

मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्रको लाइनमा थिए। सोही लाइनमा थिए एक किरियापुत्री पनि। उनी थिए गण्डकी प्रदेशका सांसद प्रकाश बराल।

पोखरा-२२ घर भएका सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो।

मतदान गरेपछि उनले आफू शोकमा भए पनि आफ्नो जिम्मेवारी पुरा गर्न आएको बताए। अनुपस्थित हुँदा आफ्नो क्षेत्रका जनताको उपराष्ट्रपति चुन्ने अधिकारी पनि कुण्ठित हुने भएकाले आफू मतदानमा सहभागी भएको बरालले बताए।

उनले भने, ‘शोकमा छु तथापि हामीलाई प्राप्त जिम्मेवारी पूरा गर्ने कुरा पनि महत्त्वपूर्ण रहन्छ। शोकलाई शक्तिमा बदल्दै आफूले पाएको जिम्मेवारीहरु पुरा गर्नु पनि हाम्रो दायित्व हो।’

आज बिहान काठमाडौं आएका उनी मतदान गरेर पोखरा फर्किएका छन्।

संघतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट एमालेका राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे। संघ र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचनमा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेकी छन्। यद्यपि, मनोनयन फिर्ता लिने समय भन्दा पछि उनको घोषणा आएकोले मतपत्रमा उनको पनि नाम रहनेछ।

निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभातर्फ ५ सय ५० मतदाता कायम छ।