प्राधिकरणले घुन्साखोला र विद्युत उत्पादन कम्पनीले सिम्वुबा खोलामा साझेदारी गर्ने, बोलाइयो विशेष साधारण सभा

बिजमाण्डू
२०७९ चैत्र ३ गते ११:१७ | Mar 17, 2023
प्राधिकरणले घुन्साखोला र विद्युत उत्पादन कम्पनीले सिम्वुबा खोलामा साझेदारी गर्ने, बोलाइयो विशेष साधारण सभा

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को घुन्साखोला आयोजना नेपाल विद्युत प्राधिकरण र सिम्बुवाखोला जलविद्युत आयोजना निर्माणको नेतृत्व विद्युत उत्पादन कम्पनी लिमिटेडले गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

एचआइडीसीएलले प्राधिकरण र विद्युत उत्पादन कम्पनीसँग साझेदारीमा आयोजना बनाउन लागेको हो। फागुन १७ गते ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको उपस्थितिमा एचआइडीसीएलले अघि बढाएका आयोजना साझेदारीमा निर्माण गर्न सम्झौता भएको हो।

अहिले एचआइडीसीएलका सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेड घुन्साखोला र सिम्बुवा हाइड्रो रेमिट लिमिटेडले सिम्बुवा खोलाको अध्ययन गरिरहेका छन्। समझदारीमा बनाउने सम्झौता अनुसार फागुन ३० गते बसेको रेमिट हाइड्रो लिमिटेड र सिम्बुवा हाइड्रो रेमिट लिमिटेडको बोर्ड बैठकले विशेष साधरणसभा बोलाउने निर्णय गरेको छ। चैत १२ गते बिहीबारका लागि विशेष साधारणसभा बोलाइएको छ।

साधारण सभाको विशेष प्रस्तावहरुमा सेयर संरचना परिवर्तन, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, कम्पनीहरुको प्रबन्धपत्र तथा नियमावलीमा संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप समायोजन गर्न संचालक समितिलाइ अधिकार प्रदान गर्ने  लगायतका छन्।

यो विशेष साधारणसभाले कम्पनीको सेयर संरचना परिवर्तन गर्ने एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुनकुमार गौतमले बताए। त्यसैगरी बोर्डको संरचनासमेत परिवर्तन हुनेछ। विद्युत उत्पादन कम्पनी र प्राधिकरणका प्रतिनिधिहरु बोर्डमा आउनेछन्।

रेमिट हाइड्रो लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयरमध्ये प्राधिकरणको २१ प्रतिशत हुनेछ। बाँकी ३० प्रतिशतमध्ये १५ प्रतिशत विद्युत उत्पादन कम्पनी लिमिटेड र १५ प्रतिशत एचआइडीसीएलको हुनेछ। यो आयोजनामा २१  प्रतिशत सेयरसहित प्राधिकरणले नेतृत्व गर्नेछ।

सिम्बुवा रेमिट हाइड्रोको ५१ प्रतिशत संस्थापक सेयरमध्ये २१ प्रतिशत विद्युत उत्पादन कम्पनी लिमिटेडको हुनेछ। बाँकी १५ प्रतिशत विद्युत प्राधिकरण र १५ प्रतिशत एचआइडीसीएलको हुनेछ। २१ प्रतिशत सेयरसहित यो आयोजनाको नेतृत्व विद्युत उत्पादन कम्पनी लिमिटेडले गर्नेछ। दुवै कम्पनीको सर्वसाधारणतर्फको सेयरमा २९ प्रतिशत वैदेशिक रोजगारीमा गएकाका लागि आरक्षण सुरक्षित गरिनेछ भने २० प्रतिशत स्थानीय प्रभावित र सर्वसाधारणका लागि छुट्याइने छ।

कम्पनीले आयोजनाको कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर कायम हुने गरी आयोजना वित्तीयस्वरुप तयार पार्नेछ।

यो विशेष साधरण सभापछि सेयर बाँडफाँटको काम सकिनेछ। त्यसपछि आयोजना निर्माणका लागि प्रक्रिया सुरु हुने एचआइडीसीएलका सीइओ गौतमले बताए। यी दुवै आयोजनाको अध्ययनको काम लगभग सकिएको छ। प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भने हुन बाँकी छ। समझदारीमा प्राधिकरणले तत्कालै पीपीए गर्ने सम्झौतामा उल्लेख छ।

पीपीए भएपछि फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) को लागि बाटो खुल्नेछ। एचआइडीसीएलले दुवै आयोजनामा अध्ययनका लागि ९६ करोड रुपैयाँ खर्च गरिसकेको छ।

७७.५ मेगावाटको घुन्साखोला जलविद्युत आयोजना ताप्लेजुङको घुन्साखोलामा प्रस्ताव गरिएको छ। आयोजनाको हेडवर्क्स फक्ताङलुङ गाउँपालिकामा रहेको लामाटारमा प्रस्ताव गरिएको छ। सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार २८८ मिटर डाइभर्सन टनेल हुनेछ। चार अडिट टनेल रहनेछ। विद्युतगृत अण्डरग्राउण्ड हुनेछ।  ३५.७८ मिटरको दुई र ३० मिटरको पेनस्टक रहनेछ।

 ७०.३४ मेगावाटको सिम्बुवा खोलाको पनि ताप्लेजुङमा नै निर्माण हुनेछ। आयोजना यसाङ, तामेवा, फक्ताङदुङमा निर्माण हुनेछ। हेडवर्क्स यसाङ गाउमा प्रस्ताव गरिएको छ। विद्युतगृह तामेवा गाउँनजिकै हुनेछ।

४३९२ मिटर हेडरेस टनेल निर्माण हुनेछ। अण्डरग्राउण्ड नै हुनेछ। ग्रस हेड ८८८ मिटर हुनेछ।  उत्पादित विद्युतलाई ३५ किलोमिटरको १३२ केभी सिंगल सर्किट प्रसारण लाइन  निर्माण गरेर प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ।

निर्माण थालेको ४ वर्षमा उत्पादनको लक्ष्य राखिएको छ। यी दुवै आयोजनाका लागि करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।