चैतमा बैंकको खराब ऋण थप बढ्दै, माग घट्दा व्यापारिक कम्पनीले पनि तिर्न छाडे ऋण

बिजमाण्डू
२०७९ चैत्र ३ गते ०९:०४ | Mar 17, 2023
चैतमा बैंकको खराब ऋण थप बढ्दै, माग घट्दा व्यापारिक कम्पनीले पनि तिर्न छाडे ऋण

काठमाडौं। पोहोरभन्दा दोब्बरले बढेको वाणिज्य बैंकहरुको खराब ऋण चैतमा थप बढ्ने देखिएको छ। बैंकरका अनुसार, चल्तिका व्यापार व्यवसायबाट पनि पैसा उठ्न छाडेको छ।

Tata
GBIME
Nepal Life

साना तथा मझौला, घर तथा गाडी, उद्योगसँगै अब व्यापारिक प्रयोजनका ऋण पनि बिग्रिन थालेका छन्। 

‘असोजभन्दा पुस, पुसभन्दा चैत झन् झन् चुनौतीपूर्ण देखिएको छ,’ एक बैंकरले बिजमाण्डूसँग भने, ‘अहिलेसम्म कहिले ऋणमा अप्ठेरो नपरेकाहरु पनि यसपाली समस्यामा परेका छन्।’

पोहोर बैंकहरुको खराब ऋण अनुपात १.३१ प्रतिशत थियो। असोजमा १.९८ प्रतिशतमा उक्लिएको थियो। पुस मसान्तसम्म आइपुग्दा खराब ऋण बढेर २.६३ प्रतिशत पुगिसकेको छ, जुन पोहोरकोभन्दा दोब्बर हो। चैतमा खराब ऋण अनुपात थप बढेर जाने बैंकरको विश्लेषण हो।

‘एकदमै राम्रो भनिएका क्लाइन्टले पनि पैसा तिर्न नसकिने भयो भनेर गुनासो गर्न थालेका छन्,’ अर्का एक बैंकरले भने, ‘एकातिर क्यास फ्लो छैन, अर्कोतिर ब्याज नै महँगो भयो।’

उनका अनुसार, व्यापार व्यवसाय चल्न छाडेको छ। सामान बिक्री दर नै घटेको छ, जति बिक्री हुन्छ त्यो पैसा नउठ्ने देखिएको छ। पछिल्लो समय सबै वस्तु तथा सेवाको माग घटेको छ।

अहिले निर्माण क्षेत्र तहसनहस हुँदा ठेकेदार कम्पनीहरु कालोसूचीमा परिरहेका छन्। त्यो ऋण अहिले उठ्दैन। औद्योगिक उत्पादन घटेकाले त्यतातिरबाट पनि पैसा उठ्ने अवस्था कम भएर गएको छ। सिमेन्ट, डन्डीलगायत निर्माण क्षेत्रसँग सम्बन्धित रङ, धारा, बिजुलीका सामानजस्ता क्षेत्र पनि प्रभावित भएको छ।

विद्युतीय उपकरण, होम अप्लायन्स लगायतका क्षेत्र पनि प्रभावित भएको छ।

‘अहिले निर्माण बिग्रिएको छ। पर्यटक आएको जस्तो देखिए पनि त्यो क्षेत्रलाई धान्न सक्नेगरी आएका छैनन्। होटलहरु नै बिक्रीमा देखिन्छन्,’ बैंकर्स संघका एक पदाधिकारीले भने, ‘१/२ करोडका ऋण बिग्रिँदै आएकोमा असोजयता १०/१५ करोडका ऋणहरु बिग्रिरहेका छन्।’ उनका अनुसार, ब्यापार क्षेत्र बिग्रिँदा समग्र क्षेत्र प्रभावित भएको छ। 

नियामक पनि कडा रूपमा प्रस्तुत भएको छ। ऋण नोक्सानी व्यवस्थापनमा राष्ट्र बैंक कठोर बन्दा खराब ऋण अनुपात बढ्न प्रोत्साहित भएको छ। नियमित ऋणमा मात्र होइन, राष्ट्र बैंकको टोली अनुगमनमा आउँदा पनि अनवाश्यक हिसाबले विश्लेषण गरेर नोक्सानी व्यवस्थापन थपिदिइरहेका छन्। 

‘यसले त झन् गाह्रो हुने भयो,’ ती बैंकरले भने, ‘बजार पनि फेवरेवल छैन र नियामक पनि छैन।’

उनका अनुसार, ऋणको ब्याज सस्तो नहुन्जेलसम्म खराब ऋण बढ्ने अवस्था छ। त्यही कुरा मनन् गरेर बैंकरले निक्षेपको ब्याज घटाएका छन्। तर, जति घट्नु पर्ने हो त्यो भने घटाइएको छैन।

‘ऋणको माग छैन। खराब ऋण बढिरहेको छ। त्यसैले अलिक फराकिलो हिसाबले ब्याज झारौं भनिएको हो,’ ती बैंकरले भने, ‘तर, संघले सामूहिक निर्णय गर्ने भएकाले उसले मानेन। ब्याज नघटी अहिलेको अवस्था सुधार हुने अवस्था देखिँदैन।’

बैंकरका अनुसार, सुरुवातमा कोभिडकालमा बढी सहुलियत पाएको ऋणले अहिले धेरै दुःख दिइरहेको छ। कोभिडकालमा बढेको करिब ८ खर्ब ऋणमा नै अहिले समस्या देखिएको छ। त्यो बेला गएको ऋण घरजग्गा र सेयरमा गएर थुप्रिएकाले अहिले कारोबार नहुँदा समस्या देखिन थालेको बैंकरको भनाइ छ।