४ अर्ब लगानीमा लिटमसको अर्को उद्योग परासीमा, ‘उद्योगबाट ४०% सम्म भ्यालु एडिसन’  

उन्नत सापकोटा
२०७९ फागुन २८ गते १२:३९ | Mar 12, 2023
४ अर्ब लगानीमा लिटमसको अर्को उद्योग परासीमा, ‘उद्योगबाट ४०% सम्म भ्यालु एडिसन’  


बुटवल। विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्ने लिटमस इन्डस्ट्रिजले करिब ४ अर्ब लगानीमा दोस्रो प्लान्ट परासीमा निर्माण गर्ने भएको छ। परासीमा १५ बिघा हाराहारी जग्गामा नयाँ उद्योग लगाउन प्रक्रिया सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

रमेश कर्पको लगानी रहेको लिटमसले अहिले बुटवल औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गरिरहेको छ।

घरायसीदेखि प्रसारणलाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि केबल लिटमसले उत्पादन गर्दै आएको छ। २ बिघा क्षेत्रफलमा रहेको बुटवलको उद्योगमा रमेश कर्पले करिब १ अर्ब रुपैयाँ लगानी गरिसकेको कम्पनीका उपाध्यक्ष सरोज मिश्राले जानकारी दिए।

सन् २०२० मा लिटमसले बुटवलको उद्योगको उत्पादन क्षमता वृद्धिलगायत मुख्य अपग्रेडेसन गरेको थियो। लिटमसले आफ्नो उत्पादन जर्मन प्रविधिमार्फत गरिरहेको छ।

‘यो क्रममा हामीले बुटवलको उद्योगमा अर्को ७०/८० करोड रुपैयाँ लगानी गर्दै क्षमता विस्तार गर्‍यौं। योसहित हामीले यो उद्योगमा करिब १ अर्ब रुपैयाँ हालिसकेका छौं। बुटवलमा घरायसी र प्रसारणलाइनमा प्रयोग हुने कन्डक्टर बनाइरहेका छौं,’ मिश्राले भने,’परासीमा भने हामीले हाइटेन्सनमा प्रयोग हुने एचटी केबललगायत नेपालमै पहिलो पटक तार उत्पादन गर्छौं। हाम्रो मुख्य ध्यान आयात प्रतिस्थापन नै हो।’

परासीको प्लान्टमा लगानी ठूलो भएकाले चरणबद्धरुपमा उद्योग विकास गर्दै लग्ने योजना लिटमसको छ।

कति छ लिटमसको उत्पादन क्षमता ?

लिटमसले ओभरहेड कन्डक्टर (ओएचसी) अन्तर्गत कन्डक्टर र केबल उत्पादन गर्छ। त्यसमध्ये एक हो एसीएसआर कन्डक्टर्स। यसको आकार २० देखि ५ सय वर्ग मिलिमिटर हुन्छ। यसको प्रयोग ११ देखि ४ सय केभीए भोल्टेजको प्रसारणलाइनमा प्रयोग हुने कम्पनीले जनाएको छ।

अर्को हो एरियल बन्च्ड केबल (एबीसी)। यसको आकार २५ देखि १५० वर्ग मिलिमिटर हुन्छ। यसको प्रयोग सहरी क्षेत्रमा राखिने ओभरहेड डिस्ट्रिब्युसन १.१ केभीए भोल्टेजमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

एक्सएलपीइ कभर्ड कन्डक्टर्स पनि लिटमसले उत्पादन गर्छ। यसको आकार ५५-१५० वर्ग मिलिमिटर हुन्छ। यसको प्रयोग ११ केभीए भोल्टेडको ओभरहेड ट्रान्समिसनमा प्रयोग गरिन्छ।

त्यसैगरी, लिटमसले घरायसी तथा अन्य प्रयोगलाई लक्षित गर्दै केबल तथा वायर उत्पादन गर्छ। १.५ देखि एक हजार वर्ग मिलिमिटर आकारको एलभी पावर केबल लिटमसले बनाउँछ। यसको प्रयोग औद्योगिक तथा व्यापारिक क्षेत्रहरुमा हुन्छ।

अर्को भनेको हाउस वायरिङ केबल हो। चार प्रकार एफआर, एफआरएलएस, फ्लेक्जिबल ट्‍वीन र कन्सेन्ट्रिक घरायसी तार कम्पनीले उत्पादन गर्छ। यसको आकार भने ०.५ देखि १६ वर्ग मिलिमिटर हुन्छ।

यस्तै, लिटमसले ट्रान्सफर्मर तथा अन्य विद्युतीय उपकरणहरुमा प्रयोग हुने इनामेल वायर र पेपर स्ट्रिप्स पनि उत्पादन गर्छ। नेपालमै उत्पादन हुने निकलगायतका ट्रान्सफर्मरहरुले पनि लिटमसकै इनामेल वायर र पेपर स्ट्रिप्स प्रयोग गर्छन्।

इनामेल वायरको आकार १० देखि ४५ स्ट्यान्डर्ड वायर गज (एसडब्लुजी) रहेको र पेपर इन्सुलेटेड स्ट्रिप्सको आकार १.४ देखि ३.५ मिलिमिटर रहेको कम्पनीले जनाएको छ।

लिटमससँग एसीसीएसआर कन्डक्टरको वार्षिक उत्पादन क्षमता ६७ हजार ७५० किलोमिटर छ। एबीसी भने वार्षिक २९ हजार ७०० किमी, एक्सएलपीइ कभर्ड कन्डक्टर्स १९ हजार ९०० किमी, पावर केबल्स ४५ हजार ३२० किमी उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ।

यस्तै, कम्पनीसँग हाउस वायरिङ केबलको उत्पादन क्षमता वार्षिक २५ लाख ३९ हजार ५७० कोइल छ। एक कोइल भनेको ९० मिटर हुन्छ। इनामेल र स्ट्रिप्सको वार्षिक उत्पादन क्षमता १३ हजार ६ सय टन रहेको कम्पनीले जनाएको छ।

भारतलगायतका स्थानबाट आउने कच्चा पदार्थबाट उत्पादित सामग्रीहरुले ४० प्रतिशतसम्म भ्यालु एडिसन गरेको उपाध्यक्ष मिश्राले दाबी गरे।

बजार विस्तारमा आक्रामक बन्ने रणनीति

नेपालमा घरायसी उपयोका तार उत्पादन गर्ने युनिट २२ वटा रहेको तथ्यांक उपाध्यक्ष मिश्रले जानकारी दिए। एबीसी उत्पादन गर्ने उद्योग नेपालमा ३-४ वटा मात्रै रहेको उनले बताए।

‘घरायसी प्रयोगलाई चाहिने तार उत्पादकहरु धेरै छन्। कम लगानीमै उद्योग लगाउन सकिने भएकाले बढी छन्। हामीसँग हाउस वायरिङ केबलको उत्पादन क्षमता वार्षिक २५ लाख कोइल भन्दा बढी छ। तर, हामीले महिनाको २५ देखि ३० हजार कोइलभन्दा बढी उत्पादन बिक्रि गर्न सकेका छैनौं,’ मिश्राले भने, ‘बजारमा धेरै प्रडक्ट छन्। हामी विस्तारै अब बजार विस्तारमा लाग्दै छौं। भारतबाटसमेत अवैधरुपमा मापदण्डविपरीतका तार आइरहेका छन्। यसले पनि बजार बिगारेको छ।’

कम्पनीका अनुसार कुल उत्पादनको १० प्रतिशत पनि उपयोग गर्न नसकिएको जनाएको छ।

मिश्रका अनुसार घरमा प्रयोग हुने विद्युतीय तारले अनिवार्यरुपमा नेपाल गुणस्तर प्रमाण चिन्ह ने.गु. ३४४ लिनुपर्ने भएपनि बजारमा गुणस्तर चिन्ह नलिएका उत्पादनसमेत बिक्री भइरहेको दाबी गरे। त्यसैगरी, विभिन्न परियोजनाहरुमा रहेका भारतीय कन्सल्टेन्टहरुले समेत भारतबाटै त्यस्ता तारहरु ल्याइरहेको उनले जानकारी दिए।

कम्पनीले अब आफ्ना उत्पादन आक्रामकरुपमा विस्तार गर्दै जाने योजना अघि सारेको छ। अहिले घरायसी केबलको बजार हिस्सा १५-१८ प्रतिशत लिटमसको रहेको दाबी कम्पनीको छ।

लिटमसमा ५ सय भन्दा बढी कर्मचारी कार्यरत छन्। लिटमसले बेदान्त लिमिटेड, हिन्दलको, युनियन कप्पर, केएलजी ग्रुप, बोरोज, बिहानी ग्रुप, केकल्पना, फुजाइरा गोल्ड र हुलास वायर्सबाट कच्चा पदार्थ खरिद गर्दै आएको छ।

लिटमसको सबैभन्दा ठूलो ग्राहक अहिले नेपाल विद्युत प्राधिकरण हो। प्राधिकरणसँगै निक, बुटवल पावर कम्पनी, नेपाल टेलिकम, भुटान पावर कर्पोरेसन, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, एयरटेकले लिटमसको उत्पादन खरिद गर्छन्।

यस्तै, ट्रान्सवेल्ड नेपाल, बलेफी हाइड्रोपावर, एमएडब्लु इन्जिनियरिङ र जगदम्बा सिमेन्ट पनि लिटमसकै क्लाइन्ट हुन्।

लिटमसले अहिले निकसँग मिलेर नेपाल विद्युत प्राधिकरणलाई करिब १० हजार युनिट ट्रान्सफर्मरको काम गरिरहेको छ। त्यसमध्ये ७ हजार युनिटको काम लिटमस र निकले सम्पन्न गरिसकेको कम्पनीले जनाएको छ।

लुम्बिनी विद्युत उद्योगबाट लिटमस

सन् १९७७ मा लुम्बिनी विद्युत उद्योग स्थापना भएको थियो। त्यसक्रममा कम्पनीले एसीएसआर कन्डक्टर मात्रै उत्पादन गर्थ्यो। १९९४ मा कम्पनीले प्रडक्ट रेन्ज थप्दै इनामेल वाइन्डिङ वायर उत्पादन थाल्यो।

सन् १९९६ मै कम्पनीले इनामेल वायर भारत निर्यात सुरु गर्‍यो। केही समयपछि भने भारत सरकारले नेपाली उत्पादनमा आयात शुल्क लगाउँदा लुम्बिनीले भारत निर्यात रोक्न परेको उपाध्यक्ष मिश्राले जानकारी दिए।

लुम्बिनीले भारतको चेन्नाई (तत्कालीन मद्रास), कोलकाता, दिल्ली र बैंगलोरमा दैनिक २० देखि २५ ट्रक उत्पादन निर्यात गर्थ्यो।

सन् १९९८ मा कम्पनीले पेपर इन्सुलेटेड स्ट्रिप्सको उत्पादन पोर्टफोलियोमा थप्यो। २००६ मा पावर केबल र २००८ मा एरियल बन्च्ड केबल उत्पादन थाल्यो।

२०१० मा आइपुग्दा मात्रै लुम्बिनीले एनएस गुणस्तर अवार्ड प्राप्त गर्‍यो। २०१५ मा इन्डियन स्ट्यान्डर्ड सर्टिफिकेसन पायो। २०१९ मा भने पुराना कर्मचारी तथा बोर्ड सदस्यलाई बिदाइ गर्दै कम्पनीले संचालक तथा उच्च व्यवस्थापनमा फेरबदल गर्‍यो।

त्यसको ठिक एक वर्षमा कम्पनीले उद्योगको उत्पदन क्षमतासहित मुख्य अपग्रेडेसन गर्न सफल भयो। २०२० कै अपग्रेडेसनलाई टेकेर कम्पनीले २०२१ मा नेपाल विद्युत प्राधिकरणलाई ५ करोड अमेरिकी डलरभन्दा बढीको एबीसी केबल आपूर्ति गर्ने ठेक्का हात पार्‍यो।

२०२२ मा कम्पनीले ३६ सय किमीका लागि लाग्ने ४ सय केभीएको प्रसारणलाइन कन्डकटर आपूर्ति गर्ने अर्को ठेक्का पायो। २०२२ कै कम्पनीले आफ्नो नाम लुम्बिनी विद्युत उद्योगलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै लिटमस इन्डस्ट्रिज लिमिटेडमा रिब्रान्डिङ गर्‍यो।

कम्पनीका उपाध्यक्ष मिश्राका अनुसार कम्पनी, बजार र देशकै समग्र आर्थिक स्थितिलाई मूल्यांकन गर्दै सर्वसाधारणहरुलाई प्राथमिक सेयर निष्कासन गर्ने योजना अनुरुप लिटमसलाई पब्लिक कम्पनीमा लगिएको जानकारी दिए।

लिटमसले अबको डेढ वर्ष भित्रमा आफ्ना उत्पादन निर्यात गर्ने गरी तयारी गरिरहेको छ। यस्तै, आगामी ५ वर्षमा आफ्नो प्रडक्ट पोर्टफोलियो विस्तार गर्ने रणनीति अघि सारेको छ। कम्पनीले एमसिभी, एलइडी लाइट, फ्यान, स्वीच र इन्डक्सन उत्पादन समेत थाल्ने योजना बनाएको छ।

कम्पनीले देशभर १३० भन्दा बढी डिस्ट्रिब्युटर र २ हजार भन्दा बढी रिटेल पोइन्टबाट उत्पादन बिक्री गरिरहेको जनाएको छ।

भुटान निर्यात हुन्थ्यो नेपाली उत्पादन

सन् २००५ मा तत्कालीन लुम्बिनी विद्युत उद्योगले भुटानमा पनि आफ्नो उत्पादन निर्यात गर्थ्यो। भुटानको विभिन्न १४ वटा ठेक्कामार्फत ९ वटा परियोजनामा कम्पनीले उत्पादन भुटान निर्यात गरेको उपाध्यक्ष मिश्राले जानकारी दिए।

भारतको लगानीमा निर्मित जलविद्युत भारतमै लग्ने गरिएको छ। त्यही परियोजनामा आवश्यक कन्डक्टरदेखि केबलसम्म लुम्बिनीले भुटान निर्यात गर्थ्यो। त्यहाँ जलविद्युत पूर्वाधार स्याचुरेसनमा पुगेपछि निर्यात रोकिएको उपाध्यक्ष मिश्राले जानकारी दिए।