
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा आइतबार हुन लागेको छ। महासंघको २४ औं साधारणसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महासंघले जनाएको छ।
साधारणसभाकै अवसरमा एफक्यान एक्सिलेन्स अवार्ड समारोह पनि आयोजना हुने छ।
महासंघका अनुसार उक्त साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्। साधारणसभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने महासंघले जनाएको छ।
साधारण सभामा देशभरबाट करिव ११ सय प्रतिनिधि र पाँचसय पर्यवेक्षक सहभागी हुने बताइएको छ।
समारोहमा निर्माण उद्योगको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिने, उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनीसहित भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिने सञ्चार माध्यमहरूलाई गरी कुल ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिने महासंघले जनाएको छ।