
काठमाडौं। बुढीगण्डकी-क जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता (पीपीए) सम्झौता हुने भएको छ।
विद्युत नियमन आयोगले सूचना निकालेर बर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिट र सुक्खायाममा ८.४० रुपैयाँमा पीपीए गर्न लागिएको छ।
सुक्खायाममा पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ प्रतियुनिट तोकिएको छ। चैत ९ गते विद्युत विकास विभागमा सार्वजनिक सुनुवाई गर्न लागेको छ। सरोकारवाला निकायहरुलाई लिखित राय/सुझाव पेस गर्न आग्रह गरिएको छ। पीपीए हुने भएसँगै आयोजनालाई फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) गर्ने र आयोजना निर्माण अघि बढाउन बाटो खुलेको छ।
यो अर्ध-जलाशययुक्त जलविद्युत आयोजना हो। जसको जडित क्षमता १०३.४ मेगावाट रहेको छ। आयोजनाको पिकिङ अवधि ५ घण्टा रहेको छ। आयोजना नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले निर्माण गर्न लागेको हो।
आयोजना गोरखा आरुघाट गाउँपालिकामा प्रस्ताव गरिएको छ। आयोजनाबाट ५४१.३७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुन्छ। बर्षायाममा १ अर्ब ७० करोड ६० लाख ६ हजार ८०९ किलोवाट घण्टा उत्पादन हुनेछ। सुक्खायाममा ३७ करोड ७५ लाख ९ हजार ३२० किलोवाट घण्टा उत्पादन हुनेछ। आयोजनाको ३१ अर्ब ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।