१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको पीपीए हुँदै, अर्को वर्षबाट निर्माणमा जाने

बिजमाण्डू
२०७९ फागुन २४ गते ०९:१८ | Mar 8, 2023
१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको पीपीए हुँदै, अर्को वर्षबाट निर्माणमा जाने

काठमाडौं। १०६ मेगावाटको अर्ध-जलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना अघि बढ्ने भएको छ।

Tata
GBIME
Nepal Life

विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नहुँदा फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) हुन सकेको थिएन। पीपीए हुने भएसंगै आयोजना अघि बढ्ने देखिएको छ।

विद्युत नियमन आयोगले सूचना निकालेर पीपीए गर्न लागेको जनाएको छ। नेपाल विद्युत प्राधिकरणले पीपीएका लागि सहमति दिइसकेको छ।  वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिट र सुक्खायाममा ८.४० रुपैयाँ प्रतियुनिट पीपीए गर्न लागिएको छ।

सुक्खायाममा पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ प्रतियुनिट तोकिएको छ। ४ देखि ६ घण्टासम्म पिकिङ दिन सक्छ। आयोजनाबाट बार्षिक औसत ६२३.४७ गिगावाट घण्टा विद्युत उत्पादन हुन्छ।

आयोगले चैत ८ गते सार्वजनिक सुनुवाइ गरेर पीपीए गर्न लागेको हो। सरोकारवाला निकायहरुलाइ सुझाव दिन सूचनामा आग्रह गरिएको छ।

आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा प्रस्ताव गरिएको छ।

करिब २४ अर्ब १७ रुपैयाँ अनुमान गरिएको छ। आयोजनाका लागि १७ अर्ब रुपैयाँ ऋण चाहिन्छ। ७.१ अर्ब रुपैयाँ इक्विटीबाट इन्जेक्ट गर्ने योजना छ। पीपीए भएपछि फाइनान्सियल क्लोजरको प्रक्रिया अघि बढ्नेछ।

यो वर्ष तयारी थालेर आगामी वर्षबाट निर्माण थाल्ने योजना छ। निर्माण थालेको ४ वर्षमा उत्पादन गर्ने लक्ष्य छ। पहुँचमार्ग निर्माण, साइट कार्यालय लगायत पूर्व तयारीको काम धमाधम भइरहेको छ।