कोहलपुरमा आज गोलभेँडा उत्सवसँगै होली, गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लगिने

बिजमाण्डू
२०७९ फागुन २३ गते ०९:०१ | Mar 7, 2023
कोहलपुरमा आज गोलभेँडा उत्सवसँगै होली, गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लगिने


नेपालगञ्ज। तराईमा खेलिने फागु पूर्णिमा (होली) अन्तर्गत आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ। कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

Tata
GBIME
Nepal Life

उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे। उनले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे।

स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ। सो पर्व नेपालमा मनाइने होली जस्तै हो। सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ।

आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ। सकेसम्म स्थानीय उत्पादनलाई जोड दिने बताउँदै कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले जानकारी दिए।

होटल एसोसिएसन अफ नेपाल बाँकेको सहआयोजना हुने ‘गोलभेँडा उत्सव नेपाल-२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन्। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकताले नयाँ सन्देश दिने बताए।

पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने बताइएको छ। अत्यन्त स्वास्थ्यवर्द्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेँडाको प्रयोगले छालालाई राम्रो बनाउने विश्वास छ।

बाँके पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्षसमेत रहेका श्रेष्ठले सद्भाव र रङ्गको पर्व होली जस्तै देखिने ‘गोलभेँडा उत्सव’लाई प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए।