गहुँ आयातमा खाद्य र साल्ट ट्रेडिङले पाए ७.५ हजार टनको कोटा, खरिद प्रक्रिया सुरु

सरला सुवेदी
२०७९ फागुन २२ गते ०६:५९ | Mar 6, 2023
गहुँ आयातमा खाद्य र साल्ट ट्रेडिङले पाए ७.५ हजार टनको कोटा, खरिद प्रक्रिया सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गहुँ आयात प्रक्रिया सुरु गरेका छन्।
दुई सरकारी कम्पनीले भारतबाट गहुँ आयात पहिलोपटक गर्न लागेका हुन्।

Tata
GBIME
Nepal Life

स्थानीय बजार र किसानहरुबाट गहुँ खरिद गरी आटा र मैदा उत्पादन गरी बिक्री गर्दै आएका कम्पनीहरुले यसपटक भने भारतबाट साढे ७ हजार मेट्रिक टन हजार मेट्रिक टन गहुँ आयात गर्ने भएका छन्।

पछिल्लो समय भारतीय सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। आयात रोकिएर अभाव हुँदा नेपालमा आटा, मैदा र यसमा आधारित बेकरी प्रोडक्टहरु महँगिएका थिए। व्यवसायीहरुको आग्रहपछि नेपाल सरकारले पहल गर्दा भारतले ५० हजार मेट्रिक टन गहुँ निर्यात गर्ने व्यवस्था गरेको थियो।

जसमा ३१ हजार टनभन्दा बढी गहुँ मैदा उद्योगहरुका लागि कोटा छुट्याइएको छ। करिब साढे ७ हजार टन सरकारी कम्पनीहरुलाई आयात गर्न अनुमति दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई बराबर परिमाणमा आयातको कोटा तोकिएको छ। बजारमा गहुँको अभाव भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य र साल्ट ट्रेडिङलाई पनि आयात गर्न निर्देशन दिएको हो। मन्त्रालयको निर्देशन अनुसार दुवै कम्पनीले आयात प्रक्रिया सुरु गरिसकेका बताएका छन्।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले आयात प्रक्रिया सुरु गरिसकेकाले गहुँ आउने क्रममा रहेको बताए।’साल्ट ट्रेडिङले भारतबाट पहिलो पटक गहुँ आयात गर्न लागेको हो,’ उनले भने, ‘पहिले आन्तरिक खरिदबाटै पुग्थ्यो।’ साल्ट ट्रेडिङले आन्तरिक बजारबाट गहुँ खरिद गरी आटा र सुजी उत्पादन गर्दै बिक्री गर्दै आएको थियो।

उता खाद्य कम्पनीका नायब महाप्रबन्धक श्रीमणीराज खनालले पनि आयातको लागि पत्राचार गरिसकेको बताएका छन्। ‘अब ढुवानी व्यवस्थापन गरेर गहुँ ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने। आयातित गहुँ पटक-पटक गरेर आउने कम्पनीहरुले बताएका छन्।

यी दुई कम्पनीहरुमा आटा, मैदा र सुजीको माग ठूलो परिमाणमा हुने गरेको छैन। गहुँमा छिटै किरा लाग्ने भएकाले थोरै-थोरै परिमाणमा भित्र्याउने तयारी छ।