
काठमाडौं। चीन सरकारले यस वर्ष आफ्नो वार्षिक आर्थिक वृद्धि दर लक्ष्य केही कम तय गरेको छ। सन् २०२२ मा चीनको आर्थिक वृद्धि झण्डै आधा शताब्दी यताकै दोस्रो नराम्रो अवस्थामा पुगेको थियो।
तीव्ररूपमा फैलिएको कोभिड नियन्त्रण गर्न अपनाइएको शून्य कोभिड नीतिले गत वर्ष मारमा परेको चिनियाँ अर्थतन्त्र सन् २०२३ मा भने सुधारोन्मुख देखिएको छ।
गत वर्ष चीनले आफ्नो वार्षिक वृद्धिदर लक्ष्य ५.५ प्रतिशत लिएको थियो भने यस वर्षको लागि वृद्धि लक्ष्य लगभग पाँच प्रतिशतमै सिमित राखेको छ। आइतबार देशको संसदको वार्षिक बैठकको उद्घाटनमा सार्वजनिक गरिएको सरकारी कार्य रिपोर्टमा उक्त कुरा उल्लेख छ।
चिनियाँ अर्थतन्त्रको वृद्धि गत वर्ष केवल ३ प्रतिशतमा मात्र सिमित भएको थियो। गत वर्ष करिब २.८ प्रतिशतको घाटा लक्ष्य राखेको चीनले सन् २०२३ को लागि भने कुल गार्हस्थ्य उत्पादनको ३.० प्रतिशत सरकारी बजेट घाटा कायम गरेको छ।
त्यस्तै, चीनले आफ्नो उपभोक्ता मूल्य सूचकांक (सीपीआइ)को लागि यस वर्ष करिव ३ प्रतिशतको लक्ष्य राखेको छ। गत वर्ष पनि चीनले ३ प्रतिशतकै सीपीआइ लक्ष्य लिएको थियो, जुन २ प्रतिशतले बढेको थियो।