शेखरको ‘फेयरवेल डिनर’पछि तातेको एफएनसीसीआई चुनाव, वरिष्ठमा को छ बलियो ?

बिजमाण्डू
२०७९ फागुन १८ गते १४:३१ | Mar 2, 2023
शेखरको ‘फेयरवेल डिनर’पछि तातेको एफएनसीसीआई चुनाव, वरिष्ठमा को छ बलियो ?

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बुधबार राति आफ्नै घरमा पदाधिकारी र कार्यसमितिलाई ‘फेयरवेल डिनर’ दिए।

Tata
GBIME
Nepal Life

उनको दुई वर्षे कार्यकाल सकिन एक महिना मात्रै बाँकी रहँदा कार्यसमिति बैठकमा भनेका छन्-‘प्रजातान्त्रिक हिसाबले चुनाव हुनुपर्छ। तर, चुनाव स्वस्थ र सौहार्द बनोस् भन्ने चाहन्छु।’ गोल्छापछि अध्यक्षमा वरिष्ठ उपाध्यक्ष स्वत: चन्द्रप्रसाद ढकाल आउनेछन्।

वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति भने निर्वाचनबाट चयन हुनेछन्। नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा सुरु भइसकेको छ। यही प्रतिस्पर्धालाई हेरेर गोल्छाले स्वस्थ प्रतिस्पर्धाको चाहना राखेका हुन्। अहिले वरिष्ठ उपाध्यक्षको आकांक्षीमा तीनजना छन्।

वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा छन्। जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ भने चुनावमा नजाने निर्णयमा पुगेका छन्। स्रोतका अनुसार दिनेशले उमेशलाललाई सघाउने मनस्थितिमा पुगेका छन्। अहिले वरिष्ठ उपाध्यक्षका आकांक्षी तीनै जना जिल्लाजिल्ला घुमेर मत मागिरहेका छन्।

चुनावमा सबैभन्दा बढी मतभार जिल्लानगरको हुने भएकाले तीनै जना आकांक्षी त्यहाँ केन्द्रित भएका हुन्। महासंघमा जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ। जिल्लानगर आफ्नो पक्षमा पार्न सकेमा निर्वाचन जित्न सकिने भएकाले सबै उम्मेद्वार त्यहीँ केन्द्रित भएका हुन्।

केही उम्मेद्वार सामूहिकरुपमा जिल्लाजिल्ला हिडेका छन् भने केही उम्मेद्वार एक्लै जिल्ला घुमिरहेका छन्। वस्तुगत उपाध्यक्ष अन्जनले दुई महिनाको अवधिमा ६० जिल्लानगर घुमिसकेका छन्। उनी एक्लै ती जिल्ला पुगेका हुन्।

अर्का आकांक्षी उमेशलाल भने महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई साथमा राखेर जिल्ला घुमिरहेका छन्। एसोसिएट उपाध्यक्ष संघई पनि जिल्लाजिल्ला एक्लै घुमिरहेका छन्।

को छ बलियो ?

महासंघभित्र जिल्लानगर, एसोसिएट र वस्तुगत गरेर तीनवटा समूह छ। यो समूहमा जिल्लानगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार छ। चुनावी मैदानमा रहेका अन्जन, संघई र उमेशलालको यो समूहमा मिश्रित स्ट्रेन्थ छ। गत चुनावमा वस्तुगतबाट राम्रो मतसहित विजय भएकाले अन्जन यो समूहमा बलियो मानिन्छन्। अन्जनले उमेशलाललाई हराएका थिए।

विगतको स्ट्रेन्थ कायम रहेमा अन्जनलाई यसले राम्रै भरथेग गर्नेछ। तर, उमेशलालले वस्तुगतमा कमब्याक गरेको पनि जिकिर गर्दै आएका छन्। सबैभन्दा बढी मतभार रहेको जिल्लानगरमा अन्जन, संघई र उमेशलाल तीनै जनाले आफू बलियो रहेको जिकिर गर्दै आएका छन्।

तर, यसमा राजनीतिक दल र पैसाको समेत महत्वपूर्ण भूमिका रहने भएकाले अन्तिममा मात्रै जिल्लानगरको निर्क्यौल गर्न सकिन्छ। गत वर्षको चुनावमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रहेका चन्द्रप्रसाद ढकाल जिल्लानगरमा बढी विश्वास गर्दा झण्डै पराजय नजिक पुगेका थिए। त्यही भएर जिल्लानगरमा तीनै जना उम्मेद्वार को बलियो भन्ने अवस्था छैन। जिल्लानगरपछि धेरै मतभार भएको एसोसिएट सबैको नजरमा छ।

अहिले एसोसिएटमा १७५२ सदस्य छन्। यो समूहको मतभार ३० प्रतिशत छ। एसोसिएटको यो मत आफ्नो पक्षमा पार्न तीनै जना लागेका छन्। एसोसिएटमा सबैभन्दा बढी भोट शंकर समूह अन्तर्गत छ। शंकर समूहसँग तीनसय भन्दा बढी भोट छ। शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल एसोसिएट उपाध्यक्षको उम्मेद्वार नहुने भएकाले त्यो मत आफ्नो पक्षमा पार्न दुई उम्मेद्वार लागेका छन्।

साहिलले आफैं उम्मेद्वार हुनका लागि तीन सय कम्पनी तथा फर्मको नवीकरण गर्दा करिब दुई करोड रुपैयाँ खर्च गरेका थिए। अहिले अन्जन र संघईले त्यो भोट आफ्नो पक्षमा पार्न लागिरहेका छन्। साहिलपछि महासंघ अध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष पशुपति मुरारकासँग अढाई सय एसोसिएटको भोट छ।

उनीहरुसँग रहेको भोट पनि निर्णायक हुनेछ। यो भोटका लागि अन्जन र संघई लागिरहेका छन्। एसोसिएटमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, भरत आचार्य र अम्बिका पौडेलसँग संयुक्त रुपमा २४० भन्दा बढी भोट छ। यो भोटका लागि अन्जन, उमेश र संघई तीनै जना लागेका छन्। त्यसपछि कार्यसमिति सदस्य प्रवलजंग पाण्डे र देशबन्धु थापासँग करिब ६०/ ६० भोट छ।

स्रोतका अनुसार उद्योग समितिका सभापति भरतलाई आफ्नो टिमबाट उठाउन अन्जन, उमेशलाल र संघई लागेका छन्। तर, भरतले अहिलेसम्म कुनै टिममा जाने घोषणा गरेका छैनन्। वरिष्ठ उपाध्यक्ष ढकालले ग्रीन सिंग्नल नदिएका कारण भरत मौन भएर बसेका हुन्। स्रोतका अनुसार अहिलेसम्म एसोसिएटको अर्को उम्मेद्वार नभएकाले भरत मौन बसेर लाभ लिन खोजेका हुन्।

महासंघ भित्रका यी प्रभावशाली

महासंघको राजनीतिमा तीन जना व्यक्ति प्रभावशाली छन्। महासंघ अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष ढकाल र पूर्व अध्यक्ष मुरारका महासंघको राजनीतिमा प्रभावशाली मानिन्छन्।

तर, अहिलेसम्म तीनै जनाले कुनै उम्मेद्वारलाई प्रतिबद्धता दिएका छैनन्। औपचारिक रुपमा यी तीनै जनाले वरिष्ठ उपाध्यक्षमा समर्थन दिएको घोषणा गर्दैनन्। तर अनौपचारिक रुपमा अन्तिममा एक जनालाई समर्थन भने गर्नेछन्।

त्यही भएर तीनै जनाले आफ्नो पक्षमा ल्याउन भेटघाट तीव्र बनाएका छन्। वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अन्जनले शेखर-पशुपतिसँगै चन्द्र ढकाललाई पनि मनाउन खोजिरहेका छन्। धेरै पटक ढकालसँग भेटेपनि सकारात्मक जवाफ पाएका छैनन्।

अन्जन शेखरसँग भने ढुक्क छन्। नाडा अटोमोबाइल एसोसिएसनदेखि महासंघको निर्वाचनसम्म शेखरसँग सहमति गरेर अगाडि बढेकोले अन्जन ढुक्क भएका हुन्। तर, शेखर-पशुपतिले मुख खोलेका छैनन्। अन्तिममा कसको पक्षमा भोट माग्छन् भन्ने पनि टुंगो छैन। कतिपयले अन्जनलाई शेखरबाट स्पष्ट जवाफ मागेर अघि बढ्न दबाब दिइरहेका छन्।

महासंघको निर्वाचनमा ‘अनएक्सपेक्टेड रिजल्ट’ ल्याएका संघई शेखर-पशुपति मात्रै होइन वरिष्ठ उपाध्यक्ष ढकालको समेत समर्थन रहनेमा ढुक्क छन्। एसोसिएट उपाध्यक्षमा निर्वाचन लड्दा ढकाल प्यानलमा रहेकाले समेत उनी ढुक्क भएका हुन्। दुई साता अघि बैंककमा भएको विवाह समारोहमा शेखर-पशुपति र संघईबीच लामै छलफल भएको थियो।

त्यो छलफलपछि संघई अन्तर्वार्ता दिँदै जिल्लानगर दौडाहामा छन्। बैंककमा भएको छलफलको विषय बाहिरिएको छैन। तर, शेखर-पशुपतिले भने अन्जनलाई आश्वस्त पार्दै दुई जनामध्ये एकजनालाई राख्न सहमतिको प्रयास भएको कम्युनिकेसन गरेका छन्।

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार उमेशलाल भने वरिष्ठ उपाध्यक्ष ढकालको समर्थन आफूलाई रहेको जिकिर गर्दै आएका छन्। उनी जिल्लानगरको अध्यक्षलाई भेट्नेबित्तिकै ‘चन्द्र दाई’ को फोन आयो तपाईंलाई भनेर कुरा सुरु गर्छन्। उताबाट नआएको जवाफ आए, उमेशलालले तत्कालै भन्छन्-‘फुर्सद नभएर होला बेलुकासम्म तपाईंलाई फोन आउँछ।’

अघिल्लो चुनावमा ढकालको टिमबाट वस्तुगत उपाध्यक्ष भएर पनि उमेशलाल ढुक्क भएका हुन्। अहिलेसम्मको चुनावी अवस्था हेर्दा तीनजनाको ‘टफ कम्पिटिसन’ देखिन्छ। प्रभावशालीलाई रिझाउँदै चुनावको अन्तिम चरणमा हुने रणनीतिले चुनावको नतिजा तय गर्नेछ।