
काठमाडौं। कार निर्माता कम्पनी टेस्लाले मेक्सिकोमा नयाँ फ्याक्ट्री निर्माण गर्ने भएको छ। प्रतिस्पर्धी कार निर्माता कम्पनीहरूको सिको गर्दै टेस्लाले पनि आफ्नो उपस्थिति अमेरिकाको दक्षिण सीमा बाहिर विस्तार गर्न लागेको हो।
टेस्लाको प्लान्ट टेक्सासबाट करिब तीन घण्टाको दूरीमा रहेको मोन्टेरेमा हुने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बताए।
चीन र जर्मनीपछि टेस्लाको अमेरिका बाहिर यो तेस्रो कारखाना हुनेछ। रोयटर्सका अनुसार मेक्सिकोमा निर्माण हुने टेस्लाको नयाँ प्लान्टको प्रारम्भिक लगानी १ अर्ब डलर हुने र लगानी १० अर्ब डलर हुनेछ।
मेक्सिकोका उप परराष्ट्रमन्त्री मार्था डेलगाडोले सो लगानी ५ अर्ब डलर बढी भएको र कारखानाले प्रतिवर्ष करिब १० लाख सवारी साधन उत्पादन गर्ने बताइन्। यो प्लान्ट टेस्लाको ट्रक र स्पोर्ट्स कार लगायतका सवारी साधनहरू उत्पादन गर्ने ‘गीगा फ्याक्ट्री’ हुनेछ।
टेस्लाको प्लान्टमा ठूलो मात्रमा पानी खपत हुने हुँदा सो क्षेत्र प्रभावित हुने चिन्ता पहिले नै मेक्सिकोले व्यक्त गरेको थियो। टेस्लाका मालिक इलन मस्कले यी चिन्ताहरूलाई सम्वोधन गर्दै मोन्टेरेमा कुनै किसिमको नकारात्मक असर नपर्ने प्रतिबद्धता जनाएको ओब्राडोरले बताए।
योसंगै अमेरिका र चीनबीचको तनावले परम्परागत आपूर्ति शृङ्खलामा बाधा पुगिरहेको बेला मेक्सिकोले आफूलाई म्यानुफ्याक्चरिङको नयाँ विकल्पको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ।
टेस्ला अघि बीएमडब्लूले पनि मेक्सिकोको एउटा कारखानामा लगानी गर्ने घोषणा गरेको थियो। फोर्डले आफ्नो इलेक्ट्रिक एसयूभी पनि मेक्सिकोमै उत्पादन गर्छ। जनरल मोटर्सले गत वर्ष मेक्सिकोमा इलेक्ट्रिक कारहरूको लागि प्लान्ट निर्माण गर्ने घोषणा गरेको थियो ।
‘यस परिवर्तनले देशमा पर्याप्त लगानी भित्र्याउनुका साथै थुप्रै रोजगारी सृजना गर्नेछ,’ लोपेज ओब्राडोरले मंगलबार एक पत्रकार सम्मेलनमार्फत बताए।
गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न स्वीकृत गरिएको नयाँ सब्सिडीहरूका लागि योग्य हुन कारहरूको लागि मेड इन अमेरिका नियमहरू लागु गरेका थिए ।
तर यो नियमले क्यानडा र मेक्सिकोका लागि लागु नहुने हुँदा धेरै अमेरिकी कम्पनीहरूले आफ्नो लागत घटाउन अमेरिका बाहिर प्लान्ट निर्माण गर्दै आएका छन्। फलस्वरूप मेक्सिको र क्यानडामा कार म्यानुफ्याचरिङ प्लान्ट लगाउने प्रतिस्पर्धा सुरु भएको हो।