
काठमाडौं। शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाहविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान पुरा गरेको छ। अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको ब्युरोका प्रवक्ता सञ्जय थापाले बताए।
प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै शाहको ठगी धन्दा सार्वजनिक गरेको छ। शाहले ५६ जना अमेरिका नागरिकसँग ठगी गरेको खुलेको छ। उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका छन्। २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।
शाहले ठगी गरी ‘स्विफ्ट’ मार्फत अमेरिकी डलर, ब्रिटिस पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको देखिएको छ।
उनले सो रकम नेपालका विभिन्न बैंकमा ‘डिपोजिट’ गरेका थिए। बैंकले उनको १५ लाख ६० हजार ५७७ अमेरिकी डलर ‘होल्ड’ मा राखेको छ। उनको खातामा ३६ करोड,८६ लाख ६२ हजार १३६ नेपाली रुपैयाँ देखिएको छ।
उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ। शाहले गैरकानुनी रुपमा रकम नेपाल भित्राएर विभिन्न कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।
ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी खडा गरेको प्रहरीले जनाएको छ। उनले सो रकम घरजग्गा किन्ने, सुन किन्न र बीमामा समेत लगानी गरेको खुलेको छ।
प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ। प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धानका क्रममा ७ जना पक्राउ परेका छन् भने १३ जनाको खोजी भइरहेको छ।