
काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले नेपालमा इ-सिम प्रयोग व्यापाक बनाउँदै कारोबार बढाउन ट्रुफोनसँग सहकार्य गरेको छ। ट्रुफोनको सहयोगमा इम्बेडेड सिम (इ-सिम) वितरण गर्ने भएको हो।
एनसेलले मंसिर ९ गतेबाटै इ-सिम बिक्री सुरु गरिसकेको छ। सहकार्यसँगै एनसेलका १ करोड ७० लाख बढी मोबाइल प्रयोगकर्ताहरुले ट्रुफोनको रिमोट सिम प्रोभिजनिङ प्लाटफर्म (आरएसपी) मार्फत इ-सिम पाउने छन्।
इ-सिम डिजिटल सिम हो। उक्त सिम भित्र सानो बिल्ट-इन चिप हुन्छ। यसैको मद्दतले विना भौतिक सिम मोबाइल प्रयोगकर्ताहरुले नेटवर्क कनेक्टिभिटी प्राप्त गर्न सक्छन्। भौतिक सिमभन्दा बढी सुरक्षित मानिएको इ-सिम, मोबाइल हराउँदा वा चोरी हुँदा समेत झिक्न सकिँदैन।
आफ्ना प्रयोगकर्ताहरुलाई नयाँ प्रविधि तथा सेवा दिने उद्देश्यले ट्रुफोनसँग सहकार्य गरिएको एनसेलको भनाइ छ। ट्रुफोनले समेत इनोभेसनलाई आत्मसाथ गर्दै जीएसएमएबाट प्रमाणित इ-सिम व्यवस्थापन प्लाटफमअन्तर्गत एनसेललाई इ-सिम सेवा दिने उल्लेख गरेको छ।
‘इ-सिम प्रविधिको पायोनियरको नाताले एनसेलमा इ-सिम सेवा विस्तार गर्न पाउँदा हामी खुसी छौं। नेपालको नेतृत्वदायी मोबाइल नेटवर्कलाई हामी अझ परिस्कृत बनाउने दिशामा अघि बढाउँदैछौं। इ-सिममार्फत हामी भौतिक सिमलाई विस्थापित गर्दै टनका टन प्लास्टिकजन्य फोहोर उत्पादनमा कटौती गर्न सक्छौं। एनसेलसँगको सहकार्यमा हामी अझ बढी भविष्यमैत्री सेवा विकास गर्न सक्छौं,’ ट्रुफोनका सीइओ ह्यारी ओडेनहोवनले भने।
त्यसैगरी, एनसेलका सीइओ एन्डी चोङले भौतिक सिमलाई आक्राकम रुपका इ-सिममा परिणत गरिने बताएका छन्।
‘इम्बेडेड सिम (इ-सिम) एनसेल प्रयोगकर्ताहरुले आफ्नो कम्प्याटिबल डिभाइसमा प्रयोग गर्न सक्नुहुन्छ। नेपालको सूचना प्रविधि विकासको इकोसिस्टममा इ-सिमले निकै महत्वपूर्ण भूमिका खोल्छ भन्ने मलाई विश्वास छ। एनसेलका प्रयोगकर्ताहरुमा इ-सिम कम्प्याटिबल डिभाइस बढ्दै गएको अवस्थामा हामीले ट्रुफोनसँग सहकार्य गर्दै इ-सिमलाई आक्रामक रुपमा विस्तार गर्ने नीति लिएका छौं। हामी आफ्ना प्रयोगकर्ताहरुलाई नयाँ प्रविधि उपयोग गर्न दिने उद्देश्यका साथ सहकार्य गर्दैछौं,’ चोङले भने।
यो सहकार्यले एनसेललाई इ-सिमको सेवा दिन पूर्ण स्वमित्व र नियन्त्रण हुने भन्दै हजारौं प्रयोगकर्ताहरुले केही क्षणमै अपग्रेड गर्न सक्ने बताइएको छ। जसले पैसा र समयको बचत हुने विश्वास एनसेलको छ।
ट्रुफोनको इ-सिम लन्च प्याड प्लाटफममार्फत ठूलो संख्यामा इ-सिम वितरण गर्न सक्ने ल्याकत राख्छ। जसले स्मार्टफोन, ट्याब्लेट र स्मार्टवाचमा प्रयोग हुने भौतिक सिम (प्लास्टिक सिमकार्ड) लाई घटाउने अपेक्षा एनसेलको छ।