लाइसेन्स नवीकरण गर्न बीमा अभिकर्ता अटेरी, फागुन २२ भित्र कागजपत्र नबुझाए नवीकरण नहुने

बिजमाण्डू
२०७९ फागुन १६ गते १५:२७ | Feb 28, 2023
लाइसेन्स नवीकरण गर्न बीमा अभिकर्ता अटेरी, फागुन २२ भित्र कागजपत्र नबुझाए नवीकरण नहुने

काठमाडौं। बीमा अभिकर्ताले इजाजत पत्र नवीकरणको लागि अटेर गरेपछि नेपाल बीमा प्राधिकरणले फागुन २२ गतेको लागि अन्तिम म्याद दिएको छ।

Tata
GBIME
Nepal Life

यसअघि प्राधिकरणले पटक पटक दिएको निर्देशनलाई अभिकर्ताहरुले अटेर गरेको भन्दै प्राधिकरणले आगामी २२ गतेभित्र आवश्यक कागजपत्र बुझाएर लाइसेन्स नवीकरण नगरे इजाजतपत्र खारेज हुने जनाएको छ।

बीमा ऐन, २०७९को दफा ९१ बमोजिम बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था रहेको छ।

उक्त व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्ताहरुलाई आफू कार्यरत बीमकका कार्यालयहरुमा आवश्यक कागपत्र पेश गर्ने सुचना जारी गरेको थियो।

अभिकर्ताहरुले हालसम्म उक्त कागजातहरु पेश नगरेपछि प्राधिकरणले समय थप गरेको हो।

प्राधिकरणले एलएलसी वा सो भन्दामाथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र ,नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साईजको फोटो एक थान र स्थायी लेखा नम्बर कार्ड बुझाउन भनेको हो। उक्त कागजातहरु बीमकको कार्यालयमा नबुझाए बीमा अभिकर्ता इजाजतपत्र नविकरण नहुने जानकारी गराएको छ।

पछिल्लो समय करिब ३ लाख बीमा अभिकर्ताको रुपमा कार्यरत छन्। एक अभिकर्ताले दुई वा दुईभन्दा बढी इन्स्योरेन्स कम्पनीमा काम गरिरहेका छन्। यसले गर्दा बीमा क्षेत्रमा अपराधिक घटनाहरु बढिरहेको, कुनै एक कम्पनीको मात्र लक्ष्य पूरा गर्नेतर्फ लाग्दा समस्या बढ्ने क्रममा रहेको भन्दै बीमा ऐनले एउटा मात्र बीमा कम्पनीको अभिकर्ता हुने व्यवस्था गरेको हो।