सरकारी साइटमा एकरुपता ल्याउँदै सञ्चार मन्त्रालयको नयाँ वेबसाइट लन्च, रियल टाइम वेब मनिटरिङ

बिजमाण्डू
२०७९ फागुन १६ गते १५:२२ | Feb 28, 2023
सरकारी साइटमा एकरुपता ल्याउँदै सञ्चार मन्त्रालयको नयाँ वेबसाइट लन्च, रियल टाइम वेब मनिटरिङ

काठमाडौं। सञ्चार मन्त्रालयले एकीकृत वेवसाइट व्यवस्थापन प्रणाली प्रयोग गर्दै नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

सूचना प्रविधि विभागले सबै सरकारी निकायहरुको वेबसाइटमा एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरेको हो। उक्त प्रणाली प्रयोग गर्दै मन्त्रालयसहित त्यसअन्तर्गत रहेका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ।

यो प्रणालीको प्रयोग गरी सरकारी निकायहरुले सूचनाप्रविधि सम्बन्धी दक्ष जनशक्ति नभए पनि उपलब्ध जनशक्तिको मद्दतले आआफ्ना निकायगत वेबसाइटहरु सहजै चलाउन सकिने मन्त्रालयले जनाएको छ। यी वेबसाइटहरु निःशुल्क एवम् सुरक्षितरुपमा विकास गर्न सकिने हुँदा निकायगत रुपमा वेबसाइट विकास, अद्यावधिक एवं सपोर्टका लागि बर्सेनि गरिने खर्च जोगिने बताइएको छ।

एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख गरिएका प्रावधान, वेबसाइट सम्बन्धी आधारभूत स्थापित एवं प्रचलित उत्तम अभ्यासहरु तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरुका वेबसाइटहरुको अध्ययनपछि विकास गरिएको मन्त्रालयले जनाएको छ।

यो प्रणालीबाट सिर्जना गरिएका वेबसाइटहरू अपांगता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न (एफएक्यु), गुनासो व्यवस्थापन, स्वचालित सहायक (च्याटबट) लगायतका विशेषतासहितको हुने बताइएको छ। सरकारी निकायहरुको वेबसाइटहरु मोबाइलबाट समेत हेर्न मिल्ने गरी छुट्टै एपको पनि विकास गरेको मन्त्रालयले जनाएको छ।

सूचनाप्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक परिचय (एडमिन युजर) उपलब्ध गराउनेछ। सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरू थपघट गर्न नारा तथा लोगो राख्‍न, ग्यालरी तथा ब्यानर जस्ता मिडिया फाइलहरू व्यवस्थापन गर्न, कर्मचारीको विवरण, संगठन संरचना लगायतका कार्यहरु गर्न सक्ने बताइएको छ।

साथै, सबै सरकारी निकायहरुको वेबसाइट/वेब एप्लिकेसनहरुको निरन्तर निगरानी गरी अनधिकृत पहुँच (ह्‍याक), डिफेस वा डाउन हुनसक्ने जोखिम न्यून गर्न सकिने मन्त्रालयले जनाएको छ। त्यस्ता घटनाहरुबारे तत्काल जानकारी गराउन विकास गरिएको रियल टाइम वेब मनिटरिङ प्रणाली समेत आजैका मितिबाट संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।