
काठमाडौं। एनसेलले कुल आम्दानीको ३१ प्रतिशत डेटा बिक्रीबाट आर्जन गरेको छ। यो पछिल्लो सात वर्ष यताकै उच्च हो।
एनसेलको माउ कम्पनी आजियाटा समूहले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार २०२२ को चौथो त्रैमासमा कम्पनीले ९ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१ को चौथो त्रैमासको तुलनामा कारोबार केही घटेको छ।
२०२१ को चौथो त्रैमासमा एनसेलले १० अर्ब १९ करोड रुपैयाँ कारोबार गरेकोमा २०२२ को सोही अवधिमा ९ अर्ब ६१ करोड रुपैयाँ व्यापार गरेको छ।
यस्तै, २०२१ को तुलनामा २०२२ मा एनसेलको व्यापार केही घट्न पुगेको देखिन्छ। २०२१ मा ४१ अर्ब ४५ करोड व्यापार गरेको एनसेलले २०२२ मा ३९ अर्ब ८१ करोड रुपैयाँ गरेको छ। २०२२ मा कुल कारोबारको ३१ प्रतिशत हिस्सा एनसेलले डेटा बिक्रीबाट आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ। २०२१ मा यो २७ प्रतिशत थियो।
२०१५ मा जम्मा १० प्रतिशत रहेको डेटाबाट हुने आम्दानी वार्षिकरुपमा बढ्दै गएको छ। ग्राहकले मोबाइलमा भ्वाइसभन्दा डेटाको बढ्दो प्रयोगका कारण टेलिकम कम्पनीहरुको व्यापार डेटातर्फ मोडिदै गएको छ। यो हरेक वर्ष बढ्दै गइरहेको छ।
एनसेलले २०२२ मा ५ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ। अघिल्लो वर्ष एनसेलको नाफा ६ अर्ब ६६ करोड रुपैयाँ थियो। २०२२ को चौथो त्रैमासमा एनसेलको नाफा १ अर्ब १३ करोड रुपैयाँ छ। २०२१ को चौथो त्रैमासमा एनसेलको नाफा १ अर्ब ७६ करोड रुपैयाँ थियो। २०२० को चौथो त्रैमासमा एनसेलको नाफा जम्मा १७ करोड ८० लाख रुपैयाँ थियो।
पछिल्लो समय ’ओभर द टप’ (ओटीटी) को बढ्दो प्रयोगले टेलिकम कम्पनीहरुको आम्दानी घट्दै गएको छ। भ्वाइस कल टेलिकम अपरेटरबाट भन्दा पनि मेसेन्जर, भाइबर, ह्वाट्सएप लगायतका ओटीटीमार्फत हुँदा अपरेटरहरुको आम्दानीमा धक्का पुग्दै आएको छ। त्यसैगरी, टेलिकम अपरेटरहरुको आम्दानी भ्वाइसबाट क्रमिकरुपमा डेटातर्फ सिफ्ट हुँदा भ्वाइसबाट हुने आम्दानीमा पनि असर परिरहेको छ।
२०२२ मा एनसेलको ग्राहक संख्या पोष्टपेडमा ५ लाख ६० हजार र प्रिपेड प्रयोगकर्तातर्फ १ करोड ६५ लाख नाघेको छ। अघिल्लो वर्ष २०२१ मा पोष्टपेड ४ लाख ९३ हजार र प्रिपेड प्रयोगकर्ता ग्राहक संख्या १ करोड ६३ लाख थियो।