
काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांशदर नेपाल राष्ट्र बैंकले घटाइदिएको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि पठाएको थियो।
जसमध्ये लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकले लघुवित्तको कारोबारको अवस्था मूल्यांकन गर्दै प्रस्तावित लाभांशको दर घटाएर १५ प्रतिशतमा झारिदिएको छ।
राष्ट्र बैंकले लघुवित्तलाई १४.२५ प्रतिशतले हुन आउने ४ करोड ७७ लाख बराबरको बोनस सेयर र ०.७१ प्रतिशतले हुन आउने २३ लाख ८५ हजार नगद लाभांश वितरण गर्न लघुवित्तलाई स्वीकृति दिएको छ।
उक्त लाभांश लघुवित्तको साधारणसभाले अनुमोदन गरेपश्चात लगानीकर्तालाई वितरण गरिने छ।
हाल लघुवित्तको चुक्ता पुँजी ३३ करोड ३९ लाख छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ३८ करोड १६ लाख पुग्ने छ।