डेढ महिनामै मन्त्रिपरिषद् छिन्नभिन्न, प्रधानमन्त्री प्रचण्ड एक्लैको काँधमा १६ मन्त्रालय

२०७९ फागुन १५ गते १८:४८
डेढ महिनामै मन्त्रिपरिषद् छिन्नभिन्न, प्रधानमन्त्री प्रचण्ड एक्लैको काँधमा १६ मन्त्रालय


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद अब ७ सदस्यीय भएको छ। नेकपा एमालेका ८ जना मन्त्रीले सोमवार राजीनामा दिएपछि सरकारमा नेकपा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्री मात्रै बाँकी रहेका हुन्।

TATA
GBIME

माओवादीका तर्फबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र जनमत पार्टीबाट खानेपानी मन्त्री अब्दुल खान मात्रै मन्त्रिपरिषदमा छन्। माओवादी केन्द्रबाटै सुशिला सिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री छन्।

आज नेकपा (एमाले)का तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, परराष्ट्रमन्त्री विमला पौड्याल, रक्षामन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राजीनामा बुझाएका थिए। एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

पुस ११ गते पौडेल, साह र भण्डारीले मन्त्रीको शपथ लिएका थिए भने गिरी, चौधरी, उप्रेती र पौडेलले माघ ३ गते शपथ लिएका थिए।

प्रचण्ड सरकारबाट सबैभन्दा पहिला बाहिरिनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ। रास्वपाका मन्त्रीले माघ २२ गते नै राजीनामा दिएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा गरेका थिए। त्यसअघि सो पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पदमुक्त भएका थिए।

सरकारबाट बाहिरिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोस्रो बनेको छ। राप्रपाका मन्त्रीले माघ १३ गते राजीनामा बुझाएका हुन्। राप्रपाका उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका थिए। यी सबै मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री प्रचण्डको काँधमा छ।

पुस ११ गते गठन भएको प्रचण्ड नेतृत्वको सरकार राष्ट्रपतिको मनोनयनका बेला छिन्नभिन्न भएको हो। प्रचण्डले राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई अघि सारेपछि पुस १० गते बनेको गठबन्धन फुटेको थियो।


Sunrise Bank