बंगलादेशसँग ऊर्जा व्यापार यही बर्खामा सुरु हुन्छ ? भारतले देखायो प्रसारणलाइनको समस्या

बिजमाण्डू
२०७९ फागुन १३ गते १४:२५ | Feb 25, 2023
बंगलादेशसँग ऊर्जा व्यापार यही बर्खामा सुरु हुन्छ ? भारतले देखायो प्रसारणलाइनको समस्या


काठमाडौं। बंगलादेश नेपालको बिजुली किन्न तयार रहेको खबर आउन थालेको वर्षौं भयो। प्रस्तावलाई नेपालले खुसीसाथ स्वागत गरिरहेको छ तर झट्ट दिन सक्ने अवस्था छैन। बिजुलीको व्यापार ढुवानीका साधनमा लोड गराएर मालवस्तु पठाउनुजस्तो सजिलो होइन। प्रसारणलाइन चाहिन्छ। नेपाल-बंगलादेशको भौगोलिक दुरी नजिकै भए पनि सीमा जोडिएको छैन।

Tata
GBIME
Nepal Life

भारतीय भूमि भएर ऊर्जा आदानप्रदान गर्नुको विकल्प छैन। त्यसैले भारतले सहमतिसहित स्वीकृति नदिएसम्म नेपाल-बंगलादेश ऊर्जा व्यापारमा जति ठुला कुरा गरे पनि काम हुनेवाला छैन। भारतले नेपालको बिजुली किन्न थालेको छ तर सर्तसहित। चिनियाँ लगानी र निर्माण कम्पनीले बनाएको आयोजनाको बिजुली लिँदैन।

यस्तोमा भारतलाई सहमत गराएर ऊर्जा व्यापार नेपालका लागि कूटनीतिक पहलबाट निकास निकाले मात्रै सम्भव छ। उता ऊर्जाको खाँचो परेकाले बंगलादेशले भारतसँग प्रयास गरिरहेको छ, नेपालले पनि कोसिस छाडेको छैन। गत साता (फागुन ६) नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १० औं बैंठक  राजस्थानको माउण्ट आबुमा भएको थियो।

उक्त बैठकमा नेपाल-बंगलादेशको विद्युत व्यापार विषय पनि उठ्यो। नेपाल-भारत  बैठकमा बंगलादेशको विषय उठ्नुको मुख्य कारण थियो- भारतीय प्रसारणलाइन। नेपालबाट बंगलादेशसम्म विद्युत निर्यातका लागि भारतीय प्रसारणलाइन प्रयोग गर्नुपर्छ। सोही कारण नेपालले बंगलादेश विद्युत निर्यातका लागि भारतीय अनुमति मागेको थियो।

बंगलादेश बिजुली लैजान तयार छ, नेपाल बेच्नका लागि तयार छ तर भारतले अनुमति नदिएका कारण अहिलेसम्म व्यापार सम्भव हुन सकेको छैन। विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतका अनुसार बंगलादेश विद्युत  निर्यातको विषयमा सुरुमा भारतीय पक्षले ट्रान्समिसनलाइनको क्षमता नभएको बताएका थिए।

भारतीय पक्षले ट्रान्समिसन लाइन प्याक रहेका कारण पठाउन नसकिने बताएको थियो। नेपाली पक्षले ट्रान्समिसन लाइनमा केही सुधार गर्न सकिने बताएको थियो। ‘ब्रेक थ्रु’ का रूपमा ५० मेगावाटबाट विद्युत व्यापार सुरु गर्न सकिने धारणा राखेका थिए।

त्यसपछि निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेस गरे आयातनिर्यात निर्देशिका बमोजिम  स्वीकृत दिन सकारात्मक रहेको भारतीय विद्युत मन्त्रालयका सचिव आलोक कुमारले बताएका थिए। नेपालले ग्रीन भेन्चर्स प्रालि प्रवर्द्धक रहेको लिखु-४ (५२.४ मेगावाट) को आयोजना बंगलादेश निर्यातको अनुमतिका लागि भारत पठाइसकेको थियो।

भारतलाई फकाउनका उसैको कम्पनीले निर्माण गरेको आयोजना पठाएको थियो। यो आयोजनाको सिभिल संरचनाको काम एसएसएनआरले गरेको हो।  

चटौतका अनुसार अहिले बंगलादेशसंग विद्युत व्यापारको सुरुवात गर्न खोजिएको हो। ‘हामीले भारतसंग ५ मेगावाटबाट विद्युत व्यापार सुरु गरेको अहिले ४०० मेगावाटभन्दा माथि पुगेको छ। बंगलादेशसँग पनि सुरु गर्न खोजेका हौं। बढाउदै लैजान सकिन्छ। सुरु  गर्न गाह्रो हो,’ उनले भने।

यस अघि नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैंठक भदौमा काठमाडौंमा बसेको थियो। उक्त बैठकमा ५० देखि १०० मेगावाट विद्युत व्यापार सुरु गर्ने र त्यसका लागि भारतलाई सहमत गराउने निर्णय भएको थियो। नेपाल-बंगलादेश विद्युत व्यापारका लागि भारतका विभिन्न निकायहरुले समेत स्वीकृति दिनुपर्छ। भारतको केन्द्रिय विद्युत प्राधिकरण, पावर ग्रीड कर्पोरेसन अफ इण्डिया र पावर सिस्टम अपरेशन कर्पोरेसनको स्वीकृति चाहिन्छ।

नेपालको जडित क्षमता करिब २४०० मेगावाट पुगेको छ। यही वर्ष ३००० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। पिक डिमाण्ड करिब १७०० मेगावाट आसपास मात्रै छ। भारतले करिब ४०० मेगावाट विद्युत प्रतिस्पर्धी बजारमा बिक्रीका लागि स्वीकृति दिएको छ। यो हिसाबले यहि बर्ष  बर्खामा करिब ९०० मेगावाट सरप्लस हुने अवस्था छ।

अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका छन्। हिउँदमा करिब ३२ प्रतिशत उत्पादन हुने भए पनि बर्खा पूर्ण क्षमतामा उत्पादन हुन्छ। त्यसैले नेपालले बर्खाका लागि दीर्घकालीन विद्युत व्यापार बजार खोजिरहेको छ।

लिखु-४ जलविद्युत आयोजना
  • नेपालका आयोजनाहरुको हालको जडित क्षमता करिब २४०० मेगावाट
  • यही वर्ष उत्पादन बढेर ३००० मेगावाट पुग्ने प्रक्षेपण
  • पिक डिमाण्ड करिब १७०० मेगावाट आसपास मात्रै छ
  • करिब ४०० मेगावाट विद्युत प्रतिस्पर्धी बजारमा बेच्न भारतको स्वीकृति
  • यही वर्ष  बर्खामा करिब ९०० मेगावाट सरप्लस हुने अवस्था छ

हालसालै बंगलादेश र भारतका विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा भारतका विदेशसचिव विनय मोहन क्वात्राले नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि ग्रीन सिंग्नल दिएका थिए।

बंगलादेशका विदेश सचिव मसुद बिन मोमनले स्थानीय संचारमाध्यमसँग कुरा गर्दै भारतले आफ्नो जमिनबाट नेपालको बिजुली बंगलादेश आयात गर्न दिने आश्वासन दिएको बताएका थिए। उनले दुई देशका सचिवबीच प्रसारणलाइनसँग सम्बन्धित व्यवहारिक मुद्दामा चर्चा भएको बताएका छन्।

यो ऊर्जा सम्बन्धी बैठकमा पहिलो अन्तर्देशीय ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारणलाइनबाट आयात निर्यात भइरहेको विद्युत क्षमतालाई ६०० मेगावाट वृद्धि गरी ८०० मेगावाट पुर्‍याउने निर्णय भएको छ। थप दुई प्रसारणलाइनबाट समेत विद्युत आयात-निर्यात गर्न भारत सहमत भएको छ। नेपालले पूर्वाधार तयार हुँदा १२०० मेगावाटसम्म निर्यात गर्न सक्ने महानिर्देशक चटौतको भनाइ छ।

टनकपुर-महेन्द्रनगर १३२ किलोभोल्ट प्रसारण लाइन ७० देखि ८० मेगावाटसम्म लेनदेन गर्ने सहमति भएको छ। संयुक्त प्राविधिक टोलीले २०० मेगावाट सम्मको विद्युत निर्यातका लागि सम्भाव्य विकल्पहरु अध्ययन गराउने पनि सहमति भएको छ।

दोस्रो अन्तर्देशीय नयाँ बुटवल-गोरखपुर ४०० किलोभोल्ट प्रसारणलाइन अन्तर्गत भारतीय खण्डको निर्माण कार्य २०२५ मार्चसम्म सम्पन्न गर्न छिट्टै सम्झौता गर्ने निर्णय समेत भएको छ।