भन्सार नाकाहरुमा थन्किएका गाडीको विवरण विभागमा पठाउन अटो व्यवसायीहरुलाई आग्रह

बिजमाण्डू
२०७९ फागुन १२ गते ०९:२७ | Feb 24, 2023
भन्सार नाकाहरुमा थन्किएका गाडीको विवरण विभागमा पठाउन अटो व्यवसायीहरुलाई आग्रह


काठमाडौं। भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा थन्किएका गाडीको विवरण विभागमा पठाउन आग्रह गरेका छन्।

Tata
GBIME
NLIC

बिहीबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका प्रतिनिधि टोलीसँग भएको भेटमा महानिर्देशक बुढाले अटो व्यवसायीहरुलाई भन्सार नाकाहरुमा थन्किएका गाडीको विवरण विभागमा पठाउन आग्रह गरेका हुन्।

उनले भन्सार नाकाहरुमा थन्किएका सवारीसाधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भइसकेको समेत अटो व्यवसायीहरुलाई जानकारी दिए। बुढाले विभागले छिटै मूल्यांकन गोष्ठीको आयोजना गर्न लागेको समेत अटो व्यवसायीहरुलाई बताएका छन्।

यसै क्रममा नाडाका अध्यक्ष ध्रुव थापाले बुढालाई भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधनहरु छुटाउन सहज निकासका लागि आग्रह गरेका थिए। अध्यक्ष थापाले सरकारले आयात प्रतिबन्ध लगाउनु अघिदेखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारीसाधनहरुको खरिद बिक्रीमा कुनै सुधार हुन नसक्ने बताएका थिए।

थापाले यसै कारण अटो व्यवसायीहरुले भन्सार नाकाहरुबाट आफ्ना सवरी साधनहरु उठाउन नसकेको स्पष्ट पारेका छन्।

नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप र भ्यान जस्ता सवारीसाधनहरुको बजार वार्षिक १७/१८ हजार रहेकोमा अहिले त्यो घटेर ७/८ हजारमा झरेको बताएका छन्। यसरी अहिले कूल सवारीसाधनहरुको बिक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए। त्यसैले ऋणमा सहजीकरण गर्न आवश्यक रहेको श्रेष्ठले बुढालाई बताएका छन्।

त्यसैगरी नाडाका सहकोषाध्यक्ष  पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्ट्सहरुको मूल्यांकनमा पनि समस्या आइरहेकोले आयातकर्ताले पेश गरेको बिल मूल्यलाई मान्यता दिन आग्रह गरेका छन्। साथै मूल्यसूचीले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले उक्त मूल्यसूचीलाई खारेज गर्नुपर्ने धारणा राखेका थिए।