
काठमाडौं। एनसेलले आफूहरुलाई पनि सरकारले छिटोभन्दा छिटो फाइभजी परीक्षणको अनुमति दिन माग गरेको छ।
सरकारले आफ्नो स्वामित्व रहेको नेपाल टेलिकमलाई मात्रै फाइभजी परीक्षण अनुमति दिएको प्रति एनसेल लामो समयदेखि असन्तुष्ट छ।
बिहीबार प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले फाइभजीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा एनसेल आजियाटाका प्रमुख सूचना अधिकृत (सीटीओ) विशाल उपाद्यायले सरकारले फाइभजी परीक्षणको अनुमति दिने समयमै खुला आवेदन माग नगरेकोमा गुनासो व्यक्त गरे।
कसैले परीक्षणको अनुमति माग्दै आवेदन दिएको भएपनि एकपटक सबै सेवा प्रदायकलाई आह्वान गरेको भए राम्रो हुने उपाध्यायको तर्क छ।
उनले दुई सन्तानको स्याहारलाई उदाहरण दिँदै एनसेलको भनाइ स्पष्ट पार्न खोजे। जेठो छोरा नेपाल टेलिकम र कान्छो छोरा एनसेल भन्दै फाइभजी परीक्षणबारे धारण राखे।
‘दुईजना सन्तान छन्। जेठो सन्तानलाई खाना खुवाइदियो, बाबु मैले दाइलाई खुवाइदिसकें तिम्रो पनि पेट भरिन्छ है भने जस्तो छ आजको दिनमा फाभइजी यात्रा। यो अवस्थाबाट नेपाल छिटै बाहिर आउनुपर्छ,’ उपाध्यायले भने, ‘गएको जुलाइ महिनामै फाइभजी लन्च भइसक्नुपर्ने हो। तर, ६ महिना बितिसक्दा पनि अझै पनि जेठै छोरालाई मात्रै पोस्छु भन्नु अलिकति अपाच्य जस्तो लाग्छ मलाइ।’
एउटा मात्रै अपरेटरले परीक्षण गरेर नपुग्ने भन्दै उनले एनसेलले पनि परीक्षण गर्न पाउनुपर्ने धारणा राखेका हुन्।
‘परीक्षणको क्रममा देखापरिरहेका प्राविधिक समस्याहरु भोलि हामीलाई पनि आउँछन्। तर, हामी आजियाटा समूहसँग अर्को पाँचवटा देशको पनि अनुभव छ। यो कुरा बुझ्न अत्यावश्यक छ। हामीले नेपालमा मात्रै दूरसंचार सेवा संचालन गर्दैनौं। ती देशहरुमा समेत फाइभजी परीक्षण गरिसकेको हुनाले हामीले तोकिएको समयसीमा भित्रै परीक्षण गर्न सक्छौं,’ उपाध्यायले भने।