
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले न्युनतम कागजातको व्यवस्था गरी छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएका छन्।
रुपन्देही जिल्लाको बुटवलमा उद्योगी व्यवसायीसँग भएको अन्तरक्रियामा अध्यक्ष सिलवालले छिटो छरितो रुपमा बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन्।
उनले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताए।
दुर्घटना बीमाको बीमांक वृद्धिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका प्रदेश कार्यालयहरुबाट बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापनका साथै बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण लगायतका कार्यहरु हुँदै आएको बताए।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले बीमकले बीमितलाई नभइ बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गर्नका लागि बीमा कम्पनीहरु समेत अग्रसर हुनुपर्ने धारणा राखेका थिए।
उनीहरुले काठको बीमाका सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने माग समेत गरे।
दुर्घटना बीमाको बीमाशुल्क बढाएर मानवीय क्षतिको विद्यमान बीमांक वृद्धि गर्नुपर्ने तथा बीमा दाबी भए बमोजिम दाबी भुक्तानी हुनुपर्ने भनाइ राखेका थिए।
उनीहरुले बीमा सचेतना एवम् बीमा शिक्षालाई सामूहिक रुपमा अगाडि बढाउनुका साथै बीमा सर्भेयरबाट छिटो प्रतिवेदन बुझाउने अनिवार्य व्यवस्था गरी चाँडै दाबी फर्छ्यौट गर्नुपर्ने लगायतका धारणा राखे।
बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारसँगको बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रियालाई निरन्तरता दिँदै आएको प्राधिकरणले जनाएको छ।