
काठमाडौं। खानेपानी मन्त्रालयले खानेपानी तथा मन्त्रालय अन्तर्गतको निकायसँग सम्बन्धित समास्याहरु बारे जनताको गुनासो सुन्ने भएको छ।
विहीबार खानेपानी मन्त्री अब्दुल खानले खानेपानी सम्बन्धित जनताको गुनासो सुन्न इकाईको सुरुवात गरेका छन्। उनले गुनासो सुन्न राखिएको टेलिफोनमा जनताले गरेको कल समेत उठाएर रेस्पोरेन्स गरेका थिए।
मन्त्रालयले देशभर खानेपानीलगायका समस्याहरू समाधान गर्न सहयोग पुर्याउने उदेश्यले सेवा संचालनमा ल्याइएको मन्त्रालयका सचिव मणिराम गेलालले बताए। उनले मन्त्रालयले कार्यालय समयमा ४ जनाले गुनासो सुन्ने र कार्यालय बाहेकको समयमा आएका कल रेकर्ड हुने पनि बताए।
‘यसमा ४ जना कर्मचारी राखिएको छ। गुनासो इकाईको लागि छुट्टै कक्ष व्यवस्था गरिएको छ,’ उनले भने, ‘ती चार जना कर्मचारीले जनताले गरेको गुनासोको कुन निकाय मातहातमा पर्छ पहिचान गरी समस्या समाधान गर्न सहयोग गर्नेछन।’
इकाईमा आएका गुनासो सम्बन्धित व्यक्ति र कार्यालयलाई जानकारी दिई समस्या समाधान गरिने उनले बताए।
देशभरीका जनताले खानेपानी सम्बन्धी गुनासो भएमा ११७१ मा फोन गरी जानकारी दिन सकिने गेलालले जानकारी दिए।