नेपाल टेलिकमका पोष्टपेड ग्राहकको ब्यालेन्स एकाएक गायब, आखिर कसरी भयो यस्तो ?

उन्नत सापकोटा
२०७९ फागुन ४ गते ११:४५ | Feb 16, 2023
नेपाल टेलिकमका पोष्टपेड ग्राहकको ब्यालेन्स एकाएक गायब, आखिर कसरी भयो यस्तो ?


काठमाडौं। नेपाल टेलिकमको नेटवर्कमा १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या आएको छ। सरकारी स्वामित्वको टेलिकममा एकपछि अर्को समस्या आउँदा पनि गम्भीरतापूर्वक भने लिइएको छैन।

Tata
GBIME
NLIC

बुधबार दिउँसो १ बजे सिस्टम डाउन भएर सेवा अवरुद्ध भएको टेलिकममा बिहीबार बिहान धेरै पोष्टपेड प्रयोगकर्ताको ब्यालेन्स एकाएक गायब भयो। र, वान वे बन्यो। कसरी आयो यो समस्या ?

टेलिकमले हरेक अंग्रेजी महिनाको १६ तारिख पोष्टपेड ग्राहकको हिसाबमिलान गर्ने गर्छ। जसका लागि टेलिकमका पोष्टपेड बिलिङ गर्ने प्राविधिकहरुले १५ तारिखको मध्यरात १२ बजेपछि हिसाबमिलानको काम सुरु गर्ने गर्छन्।

तर, मध्यरातमा सुरु गर्नुपर्ने बिलिङको काम ढिलो सुरु गर्दा टेलिकमका पोष्टपेड ग्राहकहरुको ‘बिल रन’ उज्ज्यालो हुँदा पनि सकिएन। जसका कारण धेरै पोष्टपेड ग्राहकहरुको बिलिङमा ढिलाइ हुँदा वान वे हुन पुग्यो। पोष्टपेड सिम वान वे हुँदा सबै सेवा अवरुद्ध हुन्छन्।

सिममा क्रेडिट उपलब्ध हुँदा हुँदै फोन वान वे भएको भन्दै धेरै प्रयोगकर्ता अलमलमा परेका थिए। टेलिकमका पोष्टपेड ग्राहकहरुको ‘बिल रन’ समयमा नसकिँदा वान वेमा परिणत हुन पुग्यो। केही ग्राहकहरुले वान वे भएछ भन्दै पुन: आफ्नो सिम रिचार्ज गरेका छन्। क्रेडिट उपलब्ध हुँदा हुँदै टेलिकमले समयमै बिलिङ नसक्दा प्रयोगकर्ताहरुले हैरानी खेपेका हुन्।

टेलिकमले पोष्टपेडको बिल रन ढिलो सुरु गर्दा बिहीबार बिहान यो समस्या आइपरेको हो। टेलिकमको यही लापरवाहीका कारण पोष्टपेड प्रयोगकर्ता प्रभावित बनेका हुन्।

टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार अरु बेला बिहान सबेरै पोष्टपेड बिलिङको काम सकिने गरेकोमा बिहीबार ढिलाइ भएको बताए।

‘यो बिलिङमा समस्या होइन। बिल रनमा समस्या देखिएको हो। बिल रनको काम सुरु गर्न हिजो राति अलिकति ढिलो भयो, त्यही भएर केही बेर समस्या आएको हो। अहिले समाधान भइसकेको छ,’ अधिकारीले भने, ‘३७३ रुपैयाँ जुन रेन्टल शुल्क हुन्छ त्यो काट्छ। हिसाबमिलान गरेर फेरि फिर्ता गर्छ। यही प्रक्रिया हरेक महिना अंग्रेजी १६ तारिकको बिहान सबेरै मिलिसक्थ्यो। आज अलिकति पछाडि तन्केको हो।’