
काठमाडौं। नेपाल जनरल मार्केटिङ (एनजीएम)ले वीरगंज परवानीपुरमा हिरोको एसेम्ब्ली प्लान्ट लगाएर एक्स-पल्स बाइक उत्पादन सुरु गरिसकेको थियो।
एसेम्ब्ली प्लान्टमा कार्यरत जनशक्तिलाई तालिम दिन माउ कम्पनी हिरो मोटोकर्पबाटै उच्चस्तरीय प्राविधिक प्रतिनिधि समेत आएका थिए। यति सबै प्रक्रियामा सहभागी भएको हिरो मोटोकर्पले एनजीएमलाई आधिकारिक बिक्रेताबाट किन टर्मिनेट(खारेज) गर्यो ?
स्रोतका अनुसार एसेम्ब्ली प्लान्ट लगाएपछि एनजीएम र हिरो मोटोकर्पबीच लफडा सुरु भएको थियो। ३५ वर्षदेखि व्यवसायिक कारोबार गर्दै आएका ज्योति समूह अन्तर्गतको एनजीएम र हिरोबीच एसेम्ब्ली प्लान्टका लागि राज्यले दिएको करको सहुलियतको हिस्सामा विवाद सुरु भएको थियो।
सरकारले एसेम्ब्ली प्लान्टमा सवारीसाधन उत्पादन वा एसेम्बल गर्न ल्याइने पाटपुर्जा तथा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्त:शुल्क छुट तथा भन्सार महसुलमा २५ प्रतिशत छुट दिने व्यवस्था छ।
स्रोतका अनुसार हिरोले राज्यले दिएको यो सहुलियतको ८० प्रतिशत आफूलाई दिनुपर्ने सर्त अगाडि सारेको थियो। हिरोको यो सर्त मान्न एनजीएम तयार भएन। एनजीएमले एसेम्ब्ली प्लान्ट लगाउन जग्गा, मेसिनरी, कर्मचारी लगायत गर्दा ठूलो लगानी चाहिने भएकाले राज्यले दिएको राजस्वको सहुलियत दिन नसक्ने अडान राखेको थियो।
‘एसेम्ब्ली प्लान्ट लगाउँदा हिरोले सबै सहमति जनायो। तर, प्लान्ट लगाएपछि भने कमिसन चाहिने सर्त तेर्स्यायो,’ कम्पनीका एक कर्मचारीले भने, ‘हिरोले एसेम्ब्ली प्लान्टको जग्गा भाडाबापत प्रति बाइक र स्कुटर जोडेर लिन भनेको थियो।’ विवाद बढ्दै गएपछि कम्पनीले एक्स-पल्स उत्पादन सुरु गरेको थियो। त्यसपछि भने कम्पनीले पार्टपुर्जा पठाउँदा १८ प्रतिशत भाउ बढाएर पठाएपछि हिरो र एनजीएमबीच विवाद उत्कर्षमा पुगेको थियो।
‘कमिसनको कुरा नमिलेपछि पार्टपुर्जाको भाउ १८ प्रतिशत बढाएर पठाउन थाल्यो,’ कम्पनीका ती कर्मचारीले भने, ‘हिरोले अन्तिममा आएर ब्ल्याकमेल गर्न थालेपछि समस्या खडा भयो। र, टर्मिनेटको स्थिति बनेको हो।’
एनजीएमको परफर्मेन्सलाई दोष दिएर हिरो उम्किन खोजेको ती कर्मचारीको जिकिर छ। ‘आर्थिक मन्दीका कारण अहिले सबै बाइक कम्पनीको ब्यापार खस्किएको छ। हामीले १० हजार बाइक तथा स्कुटर बेच्नु पनि ठूलो हो,’ उनले भने, ‘यो वर्ष नेपालमा सबैभन्दा बढी बाइक बिक्री गर्ने बजाजको पनि ३५ हजार पुर्याउन कठिन छ।’
ती कर्मचारीका अनुसार दुई वर्ष अघि कोभिडको समयमा एनजीएमले ७० हजार बाइक तथा स्कुटर बिक्री गरेको थियो। त्यो बेलामा हिरोका अध्यक्ष एवं सीइओ डा. पवनकान्त मुन्जालले सार्वजनिक कार्यक्रममा ‘प्रेज’ गर्दै भनेका थिए-‘एनजीएमले कोभिडको यस्तो असहज अवस्थामा समेत ७० हजार बाइक बेचेर आउटस्ट्यान्डिङ परफर्मेन्स गरेको छ।’ ती कर्मचारीका अनुसार ब्राण्डिङमा असफल भएको भए दुई वर्ष अघि त्यसरी प्रेज गरिँदैनथ्यो होला।
सम्बन्धित समाचार: