
काठमाडौं। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआइडी) की प्रमुख सामन्था पावर नेपाली ट्रेल रनर मीरा राईसँग ट्रेल रनमा सहभागी भएकी छन्। बुधबार काठमाडौंको जगडोलमा राई र उनको टिमसँग पावर ट्रेल रनमा सहभागी भएकी हुन्।
दौडपछि अनुभव सेयर गर्दै पावरले समथर ठाउँ भन्दा उकालोमा दौडन मन पराउने मानिसहरु पनि संसारमा छन् भन्ने आफूले आज थाहा पाएको बताइन्।
‘म छक्क परें, मीरा र उनको टिममा भएका युवालाई समथर ठाउँ भन्दा उकालोमा दौडन मनपर्छ। ट्रेलमा हामीले निकै गजबको समय बितायौं। केही स्थानमा मलाई निकै अप्ठ्यारो पनि लाग्यो,’ उनले भनिन्, ‘तर, ट्रेल रनिङमा भएको सुन्दर पक्ष र अवसरहरुबारे आज मैले जान्ने मौका पाएँ।’

मीरालगायतका ‘टुरिजम आन्ट्रप्रिन्योर’हरुसँग सहकार्य गर्दै नेपालमा पर्यटनको प्रवर्द्धन गरेर धेरै भन्दा धेरै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न र नेपालको विकासमा सहयोग गर्न यूएसएआईडी उत्साहित रहेको उनले बताइन।
ट्रेल रनिङमार्फत नेपालमा ‘इको टुरिजम’को प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो।








१ करोड ८९ लाख अमेरिकी डलरको यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसले निजी क्षेत्र र साना व्यवसायहरूलाई नेपालमा लगानी गर्न थप प्रतिस्पर्धी बनाउन तथा पर्यटन, कृषि प्रशोधन र डिजिटल जस्ता उच्च सम्भावित क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नका लागि सहयोग गर्दै आएको छ।