चक्रपथमा इबीआरटीको सम्भाव्यता अध्ययनका लागि लगानी बोर्डले निकाल्यो टेन्डर, १८ महिनामा अध्ययन सकिने

बिजमाण्डू
२०७९ माघ २२ गते १४:५३ | Feb 5, 2023
चक्रपथमा इबीआरटीको सम्भाव्यता अध्ययनका लागि लगानी बोर्डले निकाल्यो टेन्डर, १८ महिनामा अध्ययन सकिने

काठमाडौं। लगानी बोर्डको कार्यालयले चक्रपथमा इलेक्ट्रिक बस र्‍यापि ट्रान्जिट (इबीआरटी) को सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्‍वान गरेको छ।

Tata
GBIME
Nepal Life

आइतबार लगानी बोर्डले आशयपत्र जारी गरेर सम्भाव्यता अध्ययनका लागि अन्तराष्ट्रिय बोलपत्र आह्‍वान गरेको हो। आयोजना विकास, संचालन र व्यवस्थापनबारे अध्ययन गर्न लागिएको हो। मार्च १२  फागुन २८ गते दिउसो १२ बजेसम्म आवेदन दिन सकिनेछ।

बोर्डले यसअघि पनि सम्भाव्यता अध्ययनका लागि बोलपत्र निकालेको थियो। कात्तिकमै ठेक्का निकालेको थियो। बुधबार सूचना जारी गरेर उक्त बोलपत्र रद्ध गरेर पुन: आह्‍वान गरिएको छ।

अघिल्लो बोलपत्रमा केहि प्राविधिक समस्या आएकाले रद्ध गरेर पुन: आह्‍वान गर्नुपरेको लगानी बोर्डको कार्यालयका सुचना अधिकारी रमेश अधिकारीले जानकारी दिए। उनका अनुसार अध्ययनको जिम्मा पाउने कम्पनीले १८ महिनामा अध्ययन रिपोर्ट तयार पार्नुपर्नेछ। त्यसपछि बाकी प्रक्रिया अघि बढ्नेछ।

प्रस्तावित आयोजना अन्तर्गत २७.३० किलोमिटर चक्रपथमा र्यापिड बस संचालन गर्न लागिएको हो। जसमा विद्युतीय बस र आधुनिक बस स्ट तथा टर्मिनलहरु रहेनछ।  ७५ वटा विद्युतीय बस, २७ वटा बस स्टेसन र एउटा टर्मिनल निर्माण हुनेछ।

स्मार्ट टिकेटिङको व्यवस्था हुनेछ। बस कहाँ आइपुगे भनेर ट्रयाक गर्न तथा सेड्युल हेर्न मिल्ने सिस्टमको विकास गरिएको हुनेछ।

प्रस्ताव आयोजना निजी क्षेत्रले विकास संचालन र व्यवस्थापन गर्नेछ। चक्रपथमा यस्ता बसहरु संचालनका लागि डेडिकेटेड लेनहरुको विकास गरिनेछ।

यसले यात्रा अवधी घटाउने, सार्वजनिक सवारीसाधन सुरक्षित व्यवस्थित, सहजै प्राप्त गर्न सकिने र विश्वसनीय हुने अपेक्षा गरिएको छ। विद्युतीय सवारीसाधन संचालन गर्दा सवारीसाधनबाट निस्कने प्रदुषण कम गर्न समेत सहयोगी हुनेछ।

२०१९ को अध्ययन अनुसार न्युनतम २ लाख ४० हजार यात्रुले यो सेवा लिनेछन्।  २०२९ मा दैनिक ३ लाख ८ हजार ३७४ जनाले सेवा लिनेछन्। २०३९ मा ४ लाख ८ हजार, २०४९ मा ४ लाख २९ हजार ५३८ जनाले न्युनतम सेवा लिने  अनुमान गरिएको छ।

यो आयोजनाको पूर्व सम्भाव्यता अध्यनन भइसकेको छ। जसले निर्माण संचालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्दा उपयुक्त हुने सुझाव दिएको छ। सार्वनिक निजी साझेदरी (पीपीपी) मोडलमा निर्माण गर्न समेत सुझाएको छ।