
काठमाडौं। युवालक्षित उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सम्झौता भएको छ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धि सात दिने तालिम कार्यक्रम संचालन गर्ने भएको छ।
तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा लगानी गर्नेछ।
परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले सम्झौताले युवाहरुमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए।
त्यस्तै, बैंंकका सीइओ श्रेष्ठले त्रिपक्षीय सहकार्य भएकाले कर्जाको दुरुपयोग नहुने बताए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सहुलियतपूर्ण कर्जा प्रवाहकोे बारेमा प्रकाश पार्दै परिषद् र बैंक बीच लामो समयदेखि उद्यमशीलता विकासको लागि सहकार्य हुँदै आएको जानकारी पनि गराए।