
काठमाडौं। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।
आयोजना दोलखाको गौरीशंकर गाउँपालिका भएर बग्ने रोल्वालिङ खोलामा निर्माण हुनेछ। विद्युत विकास विभागले सूचना निकालेर ३५ दिनभित्र सरोकारवाला निकायहरुलाई लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ।
यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो। आयोजनाबाट १०५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ। आयोजनाका मुख्य संरचनाहरु रोल्वालिङ खोलाको दायाँ किनारमा निर्माण हुनेछ।
रोल्वालिङ खोलामा बाँध बाधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु ग्राभेल ट्रयाप, हेडरेस टनेल, सेटलिङ बेसिन, पेनस्टक पाइप हुदै विद्युत गृहमा लगिनेछ।
आयोजनाको कुल हेड २०७.१८ मिटर र खुद हेड २०५.१९ मिटर हुनेछ। २५३ मिटर आयोजनामा पेनस्टक राखिनेछ।
विद्युत उत्पादनपछि ८.४ किमी ३३ केभी प्रसारणलाइन निर्माण गरी विगु गाउँपालिका-१ स्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रस्तावित ३३/२२० केभी सबस्टेसनमा जोडिनेछ।
२०८४ मंसिर १ गतेभित्र विद्युत उत्पादनको लक्ष्य छ। ६ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ।