विद्युत उत्पादन कम्पनीको २८३६ मेगावाटको ३ जलविद्युतको अध्ययन अन्तिम चरणमा

बिजमाण्डू
२०७९ माघ १८ गते ०७:२४ | Feb 1, 2023
विद्युत उत्पादन कम्पनीको २८३६ मेगावाटको ३ जलविद्युतको अध्ययन अन्तिम चरणमा

काठमाडौं। विद्युत उत्पादन कम्पनी लिमिटेडले २८३६ मेगावाटका तीन ठुला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ।

Tata
GBIME
Nepal Life

४८० मेगावाटको फुकोट कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ भने १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको अहिले अध्ययनको काम चलिरहेको छ। विद्युत  विकासका लागि स्थापना भएका कम्पनीले अहिलेसम्म कुनै पनि आयोजना निर्माणमा लैजान भने सकेको छैन।

अहिले अध्ययन भइरहेका आयोजनामध्ये फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणमा जाने सक्ने अवस्थामा छ। लगानी जुटाउन नसक्दा निर्माण जान सकेको छैन। ‘हामीसँग भएका आयोजना ठुलो स्केलका छन्। खर्बौको लगानी चाहिन्छ। राजनीतिक नेतृत्वले गर्ने निर्णयका आधारमा अघि बढ्न पर्छ,’ कम्पनी एक अधिकारीले भने, ‘एउटा आयोजना भारतीय कम्पनीसँग संयुक्त रुपमा विकास गर्ने बिषयमा छलफल चलिरहेको छ।’ उनका अनुसार ठुला आयोजनाका लागि लगानी जुटाउन नसक्ने हो भने कम्पनीले निर्माण गर्ने आयोजना नै नहुन सक्छ।

फुकोट कर्णाली अर्ध-जलाशययुक्त जलविद्युत आयोजना

फुकोट कर्णाली अर्ध-जलाशययुक्त नदी प्रवाहमा आधारित प्रकृतिको जलविद्युत आयोजना हो।

प्रस्तावित आयोजना कालिकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, खाडाचक्र नगरपालिका र पताल झरना गाउँपालिकामा रहेको छ। कर्णाली नदीमा निर्माण हुने यो आयोजनाबाट औसत वार्षिक २४४,८ करोड युनिट उत्पादन हुनेछ।

आयोजनाबाट उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारणलाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तयार भएको छ।

भीयुसीएलको प्रतिवेदन अनुसार आयोजनाको विद्युत गृह तथा बाँधस्थलमा ६१० मिटर टेष्ट अडिट टनेल खन्ने काम पूरा भएको छ। वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिका लागि विद्युत विकास विभाग समक्ष पेस भएको कम्पनीले जनाएको छ।  त्यसै गरी डुबान क्षेत्रमा करिब ८२२ रोपनी जग्गा अधिग्रहण भएको छ।

निर्माणस्थल तथा मक डिस्पोजल, पहुँचमार्गका लागि थप १५० रोपनी जग्गा अधिग्रहणका लागि लगत सहितको सुचना प्रकाशित गरिसकेको छ। घर, टहराको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अन्तिम चरणमा रहेको छ। विद्युत उत्पादनका लागि अनुमतिपत्र प्राप्त गर्न विद्युत विभाग समक्ष आवेदन दिइसकेको  कम्पनीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को आवेदन पेस गरी इनर्जी लकको चरणमा रहेको छ। पहुँचमार्ग र कर्मचारी आवास गृह तथा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

किमाथांका अरुण जलविद्युत आयोजना

यो आयोजना प्रदेश १ को सखुवासभाको भोटखोला गाउँपालिका २ मा प्रस्ताव गरिएको छ।

अरुण नदीमा निर्माण हुने यस आयोजनाबाट औसत वार्षिक २५५.११ करोड युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारणलाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ। विद्युत गृह स्थलमा १२५ मिटर टेष्ट अडिट टनेल निर्माण सम्पन्न भएको छ। वातावरणीय अध्ययन प्रतिवेदन तयारी अन्तिम चरणमा रहेको छ।

विद्युत गृह र बाँधस्थल क्षेत्रमा आवास गृह तथा कार्यालय भवन निर्माण गर्न २८५.५ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। पहुँचमार्ग तथा डुबान क्षेत्रमा पर्ने थप ९०० रोपनी जग्गा अधिग्रहणक लागि प्रारम्भिक अधिकृत नियुक्त भइ प्रक्रिया अघि बढेको कम्पनीले जनाएको छ।

उत्पादन अनुमतिपत्र प्राप्त गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ। विद्युत गृह स्थलमा आवास तथा विद्युत गृह तथा कार्यालय भवन निर्माणका लागि प्राप्त गरिएको जग्गामा तारबार लगाउने ठेक्का सम्झौता भइ काम अघि बढेको छ।

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना १९०२

यो प्रस्तावित आयोजना कर्णालीको कालिकोट, मुगु, हुम्ला र जुम्ला तथा सुदुरपश्चिम प्रदेशको बाजुरामा प्रस्ताव गरिएको छ।

कर्णाली नदीमा निर्माण हुने यो जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता अभ्ययनका लागि २०७५ फागुन १ मा एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडंग सम्झौता भएर काम भइरहेको छ। अहिले पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भएर सम्भाव्यता अध्ययन अन्तिम चरणमा रहेको छ। सम्भाव्यता अध्ययन अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

आवास गृह तथा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न प्रारम्भिक अधिकृत नियुक्तिको प्रक्रियामा रहेको छ। आयोजनाको लागि आवश्यक ४०० केभी विद्युत प्रसारणलाइन आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको छ।

कम्पनीको सहायक कम्पनीका रुपमा रहेको जगदुल्ला हाइड्रोपावर लिमिटेडले १०६ मेगावाटको जगदुल्ला अर्धजलाशयुक्त जलविद्युत आयोजनार ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ। त्यसै गरि ४१७ मेगावाटको नलगाड जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ। यो आयोजना हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरिरहेको छ। ४४२ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।

५ कम्पनीमा ८६ करोड लगानी

कम्पनीले अहिलेसम्म ५ वटा कम्पनीमा ८६ करोड ८० लाख ५० हजार रुपैयाँ लगानी गरेको छ।

कम्पनीले जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडमा ५८ करोड रुपैयाँ, नलगाडमा हाइड्रोपावर कम्पनी लिमिटेडमा १ करोड रुपैयाँ, एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडमा २ करोड ५५ लाख रुपैयाँ, बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा २ करोड ५० लाख रुपैयाँ, नेपाल पावर ट्रेड कम्पनी लिमिटेडमा २५ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ।

कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ रहेको छ। जसलाई १०० रुपैयाँका दरले २० करोड थान साधारण सेयरमा विभाजन गरिएको छ। कम्पनी तत्काल जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ। जसलाई १०० रुपैयाका दरले १० करोड थान साधारण सेयरमा विभाजन गरिएको छ।

कुल जारी पुँजी चार अर्ब पाँच करोड ५८ लाख रुपैयाँ रहेको छ। संस्थागत सेयर स्वामित्व ७१ र सर्वसाधरणको २९ प्रतिशत हुन आउछ। संस्थागतमा समुह ‘क’ र ‘ख’ रहेका छन्। समुह ‘क’ मा ऊर्जा मन्त्रालयको २० प्रतिशत, अर्थ मन्त्रालयको ५ प्रतिशत र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको ५ प्रतिशत रहेको छ।

समुह ‘ख’ मा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, कर्मचारी सञ्चयकोषको १० प्रतिशत,  नागरिक लगानी कोषको ५ प्रतिशत, नेपाल हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ४ प्रतिशत  र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत सेयर हिस्सा रहेको छ।

समुह ‘ग’ अर्थात सर्वसाधरणका लागि छुट्याइएको २९ प्रतिशतमा सर्वसाधरण नागरिकका लागि १९ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत र अति विपन्न परिवारका लागि २ प्रतिशत छुट्याइएको छ।