
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मंगलबार मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ।
सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ। मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी साधारण सभामा लगिनेछ।
त्यसैगरी दुवै कम्पनीबीच भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्ट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १००:८० कायम रहनेछ।
दुवै कम्पनीको आव २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरणपछि स्वाप रेसिओ गणना गरी मर्जरपछि कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ कायम हुने बताइएको छ।
त्यसैगरी मर्जरपछि बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन्।
सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट र प्रमुख कार्यकारी अधिकृत सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट हुने सम्झौता भएको छ। एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने छन्।