
काठमाडौं। योजना तथा अनुगमन महाशाखा अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाले काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ।
मंगलबार एक सूचना जारी गर्दै महाशाखाले ५ वर्षसम्ममा पनि सन्तोषजनक काम नगरेको भन्दै त्रिवेणी निर्माण सेवासँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको जनाएको छ।
उक्त निर्माण कम्पनीसँग २०७४ असारमा ठेक्का सम्झौता गरिएको थियो। तर कम्पनीले ५ वर्ष बितिसक्दा पनि निर्माणको काम अलपत्र पारेपछि पटकपटक काम सम्पन्न गर्न महाशाखाले लिखित तथा मौखिख रुपमा ताकेता गरेको थियो।
तर निर्माण कम्पनीले कुनै चासो नदेखाएपछि महाशाखाले ठेक्का तोड्ने अवस्थामा पुगेको जनाएको छ। महाशाखाले निर्माण कार्यको प्रगति, आवश्यक फोटोहरु, संशोधित कार्यतालिका पेश गर्न आग्रह गरेको थियो।
महाशाखाले निर्माण व्यवसायीसँग सार्वजनिक खरिद ऐन तथा सार्बजनिक खरिद नियमावली र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का किन नतोड्ने? कारण भएमा कारण, कार्य प्रगति र प्रमाण सहित १५ (पन्ध्र) दिनभित्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।
समय अवधिभित्र कारणसहित स्पष्टिकरण पेश नभएमा यसै सूचनालाई अन्तिम मानि ठेक्का सम्झौता अन्त्य गरिने महाशाखाले जनाएको छ।