सुडानीबाट बरामद १८ किलो सुनमाथि सीआइबीको अनुसन्धान, प्लेकार्ड बोकेर सुन कुर्ने अर्का एक पक्राउ

बिजमाण्डू
२०७९ माघ ११ गते १५:१७ | Jan 25, 2023
सुडानीबाट बरामद १८ किलो सुनमाथि सीआइबीको अनुसन्धान, प्लेकार्ड बोकेर सुन कुर्ने अर्का एक पक्राउ


काठमाडौं। विमानस्थल भन्सारले बरामद गरेर नियन्त्रणमा लिएको १८ किलो सुनको तस्करी कनेक्सनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

१८ किलो सुनसहित सुडानी नागरिक पक्राउ परेका छन्। संगठित अपराधअन्तर्गत अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले बताए।

‘भन्सारले पक्रेको सुनसहित २ जनासँग बयान लिन सुरु भएको छ। अरबी भाषा बोल्ने भएकाले बयानमा अप्ठ्यारो छ,’ उनले भने। बयानपछि प्राविधिक विश्लेषण सुरु गरिने उनले बताए।

गत पुस ८ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला सराफललाई १९ किलो लेदो सुनसहित पक्राउ गरेको थियो। सुन लिन भन्सार कार्यालय बाहिर कुरिरहेका अर्का सुडानी मोहम्मद इब्राहिमलाई पनि प्रहरीले पक्राउ गरेको हो।

सुन ल्याउने डाफल्ला त्रिभुवन विमानस्थलभित्रै पक्राउ परेपछि इब्राहिमलाई सुन तस्कर समूहले भाग्न संकेत दिएका थिए। इब्राहिमले भाग्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीलाई अभद्र व्यवहार गरेपछि इब्राहिमविरुद्ध गौशाला प्रहरी कार्यालयले अर्को मुद्दा पनि दायर गरेको छ।

भन्सार कार्यालयले पक्राउ गरेपछि २५ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअनुसार भन्सारले दुई सुडानी नागरिकको अध्ययन सकेर मुद्दा सरकारी वकिललाई बुझाएको थियो।

उक्त मुद्दामा अध्ययन नपुगेको भन्दै सरकारी वकिलको रायअनुसार नै सीआइबीलाई अनुसन्धानको जिम्मा दिइएको हो। विमानस्थल भन्सार कार्यालयले लेदो बनाएको सुन ठूलो परिमाणमा पहिलोपटक बरामद गरेको हो।  

कोड प्रयोग गरी सुन तस्करी

भन्सारको अध्ययनबाट सुन तस्करीले कोडको प्रयोग गरी सुन ओसार-पसार गर्ने गरेको भेटिएको छ। पक्राउ परेका २ सुडानीले पनि कोड प्रयोग गरेका थिए। दुबईबाट आएका डाफल्लालाई लिन बाहिर इब्राहिम बसेका थिए। डाफल्लाको फोटो प्रिन्ट गरी प्ले कार्ड बनाएर उनी बाहिर कुरिरहेका थिए।

इब्राहिमलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको मोबाइलमा डाफल्लाको फोटोसमेत भेटिएको छ। उनीहरुले ह्‍वाट्स एपको माध्यमबाट फोन-संवाद गर्ने गरेको खुल्न आएको छ।

दुवै जनाले भन्सारको बयानमा आफूहरु भरिया मात्रै रहेको बताएका छन्। दुवैबाट सुन पठाउने तस्करले डाफल्लालाई करिब ३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी रकम दिएर नेपाल पठाएका थिए।

डाफल्लालाई आफूले बोकेको सामान सुन भएको थाहा नभएको बताएका छन्। उनले बयानमा आफूलाई सो सामाग्री लगिदिए वापत पैसा दिई नेपाल घुम्ने अफर गरेको बताएका छन्।

भन्सार कार्यालयले भने सुन भारततर्फ लैजान लागेको अनुमान गरेको छ। सोझा व्यक्तिलाई प्रलोभनमा पारी सुन तस्कर गर्न प्रयास गरिएको भन्सारको अनुमान छ। सुनमा कुन एसिड मिसाएर बनाइएको हो अझै खुल्न सकेको छैन।