यतीको जहाज दुर्घटनासँगै इयुको नेपाल भ्रमण स्थगित, सुरक्षा सूचीबाट वाहिरिन अझै समय लाग्ने

२०७९ माघ ६ गते १९:१५
यतीको जहाज दुर्घटनासँगै इयुको नेपाल भ्रमण स्थगित, सुरक्षा सूचीबाट वाहिरिन अझै समय लाग्ने


काठमाडौं। यती एयरलाइन्सको जहाज दुर्घटनापछि युरोपेली युनियन(इयु)को टोली हवाई सुरक्षा जाँच(सेफ्टी अडिट)का लागि तत्काल नआउने भएको छ।

Tata
GBIME

इयुको टोली फेब्रुअरीमा नेपाल सेफ्टी अडिटका लागि आउने तय भएको थियो। यतीको जहाज दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण सेफ्टी अडिटका इयुको टोली आउँदा राम्रो नतिजा नआउने देखेर पछि सार्ने निष्कर्षमा पुगेका थिए।

त्यही आधारमा प्राधिकरण र इयुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर अडिट रोकिएको हो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनकी राजदूत नोना डेप्रेजद्वारा जारी विज्ञप्तिमा पोखराको हवाई दुर्घटनापछि इयुको टोलीले गर्न लागेको अडिट स्थगित भएको उल्लेख छ। विज्ञप्तिमा नेपालको हवाई सुरक्षाका लागि प्राधिकरणलाई निरन्तर सहयोग रहने समेत स्पस्ट उल्लेख छ।

 यो टोली आएपछि सन् २०१३पछि कालोसूचीमा राखेको नेपाललाई हटाउने दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको थियो। तर एकाएक यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा परेर ७२ जनाको ज्यान गएपछि सेफ्टी अडिटलाई प्राधिकरणकै आग्रहमा पछि सारिएको स्रोतले बतायो।

 ‘यतीको जहाज दुर्घटनापछि अन्तर्राष्ट्रिय जगतमा नेपालको उड्डयन क्षेत्रमा नकारात्मक धारणा बनिरहेको छ। यो नकारात्मक धारणा बनिरहेको समयमा सेफ्टी अडिट आउँदा राम्रो रिजल्ट आउने सम्भावना थिएन,’ स्रोतले भन्यो, ‘त्यसैलाई यसलाई पछि सार्नु राम्रो निर्णय हो।’ यस्तो टोली जुनमा आएर अडिट गरेर गएको थियो।


Sunrise Bank