नेपाल टेलिकमको सेवा अवरुद्ध घटनाको छानबिन र दोषीलाई कारबाही गर्न युनियनहरुको माग



२०७९ माघ ६ गते १२:३६
नेपाल टेलिकमको सेवा अवरुद्ध घटनाको छानबिन र दोषीलाई कारबाही गर्न युनियनहरुको माग


काठमाडौं। नेपाल टेलिकमको सेवा अवरुद्ध भएको घटना छानबिनको माग भएको छ। गत मंगलबार भएको घटना छानबिन गर्नुपर्ने माग टेलिकमका कर्मचारी युनियनहरुले गरेका हुन्।

Tata
GBIME

सेवा अवरुद्ध भएको विषयमा छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने उनीहरुको माग छ।

‘विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानबिन समिति गठन भै प्रतिवेदन तयार हुने तर प्रतिवेदनको कार्यान्वयन एवम् दोषी उपर कारबाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहीनता बढेको हाम्रो ठहर छ,’ जारी विज्ञप्तिमा उल्लेख छ।

कर्मचारी युनियनहरुले यस प्रकारका घटनाहरु बारम्बार नदोहरिने गरी सिस्टम र सेवाहरुको प्राविधिक परीक्षण गराउन समेत माग गरेको छ।

‘समस्या देखिएको सन्दर्भमा कुन सिस्टम र के कस्ता कारणले समस्या देखिन गएको हो ? कम्पनीले के कति क्षति व्यहोरेको छ ? यो कस्को जिम्मेवारी र दायित्वको विषय हो ? जस्ता विषयमा प्रष्ट रुपमा खोजबिन गरी आगामी दिनमा यस्ता समस्याहरु दोहरिन नदिन उचित ब्याकअप तथा सुरक्षा सावधानी अपनाउन, विशेषज्ञ टिम तयार पारी कार्य अगाडि बढाउन,’ कर्मचारीहरुको माग छ।

कम्पनीका अवरुद्ध सेवाहरु हालसम्म पनि पूर्ण रूपमा चुस्त, दुरुस्त र नियमित हुन नसकेको भन्दै कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्‍न खडा भएको ठहर कर्मचारीहरुको छ।

थोत्रो बिलिङ प्रणाली टेलिकमले नफेरेका कारण बारम्बार सेवा अवरुद्ध हुँदै आएको छ।


Sunrise Bank