
काठमाडौं। नेपाल आयल निगमले १७ अर्ब ऋण तिर्न बाँकी रहेको भन्दै यस पटक इन्धनको मूल्य नघटाउने भएको छ।
मंगलबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै १७ अर्ब ऋण तिर्न बाँकी रहेको भन्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा घटबढ नगर्ने जनाएको छ।
पुसमा प्रधानमन्त्रीको निर्देशनमा निगमले इन्धनको मूल्य घटाएको थियो। सोमबार भारतबाट डिजलको मूल्य लिटरको ३ रुपैयाँले घटेर आएको थियो। यस्तै हवाई इन्धनको मूल्य पनि घटेर आएको निगमले जनाएको छ। तर पेट्रोलको मूल्य भने लिटरको २ रुपैयाँले बढेर आएको थियो।
यसरी मूल्य घटबढ भएर नयाँ मुल्य आउँदा पनि निगमलाई अबको १५ दिनमा लगभग ५३ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ। निगमका अनुसार यही मूल्य यथावत राख्दा निगमलाई मासिक १ अर्ब ७ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण छ।
निगमलाई हाल एलपी ग्यासमा ३५९.५० रुपैयाँ घाटा रहेको समेत निगमले जनाएको छ। निगमले सरकारसँग लिएको ऋणको किस्ता र ब्याज पनि बुझाउन थालेको छ। निगमले पुस महिनामा पहिलो किस्ता र ब्याज गरि ८८ करोड रुपैयाँ सरकारलाई बुझाएको छ।
निगमले अझै इन्डियन आयल कर्पोरेशन र नेपाल सरकारलाई गरी कुल १७ अर्ब ३० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको उल्लेख गरेको छ।