उच्च दबाबमा आन्तरिक राजस्व विभाग करदातालाई फोन गर्दै, ‘कर बाँकी नराखिदिनुस्’

बिजमाण्डू
२०७९ पुष २९ गते ०६:४९ | Jan 13, 2023
उच्च दबाबमा आन्तरिक राजस्व विभाग करदातालाई फोन गर्दै, ‘कर बाँकी नराखिदिनुस्’

काठमाडौं। पुस महिना सकिन लाग्दा पनि राजस्व सोचे अनुसार नउठेपछि आन्तरिक राजस्व विभाग उच्च दबाबमा देखिएको छ। महिना सकिन दुई दिन मात्रै बाँकी रहँदा जम्मा ३६ अर्ब मात्रै राजस्व उठेपछि विभाग दबाबमा परेको हो।

Tata
GBIME

यो महिना १ खर्ब ७ अर्बको राजस्व उठाउने लक्ष्य छ। त्यही भएर विभागले सबै कार्यालयलाई सकेसम्म बढी राजस्व उठाउन निर्देशन दिइएको छ। विभागका एक कर्मचारीले भने ‘हाम्रो सम्पूर्ण ध्यान राजस्व कसरी धेरै उठाउने भन्नेमा छ। यसका लागि सबै संयन्त्र प्रयोग गरिरहेका छौं।’

गत आर्थिक वर्ष २०७८/७९ को पुस महिनाभर सबै शीर्षकमा ७० अर्ब राजस्व उठेको थियो। यस्तै चालु वर्ष ७० देखि ८० अर्बको हाराहारीमा राजस्व उठ्ने अनुमान विभागको छ। विभागका स्रोतले भन्यो ‘विभागले राखेको १ सय ७ अर्ब राजस्व उठाउने लक्ष्य पुरा नहुने लगभग पक्का छ। हामीले गतवर्षको तुलनामा केही प्रतिशत बढि राजस्व उठ्ने अनुमान गरेका छौं।’

विभागका एक अधिकारी भन्छन् ‘हाम्रा कर्मचारीहरुले करदातालाई फोन गरिरहेका छन्। हामीले करदातालाई तिर्नुपर्ने कर बाँकी नराखी भुक्तानी गरिदिन भनेका छौं।’

यस्तै मदिरा उद्योगहरुको बिक्रीमा पनि कमी आएकाले गत वर्षभन्दा कम कर दाखिला गरिरहेका छन्। सिमेन्ट, डन्डी, सेयर बजार, सवारी साधन बिक्री गर्ने कम्पनीहरुको कारोबारमा समेत उच्च गिरावट आउँदा राजस्व संकलनमा धक्का पुगेको छ।   

पुसलाई सबैभन्दा धेरै राजस्व असुल हुने महिनाका रूपमा पनि हेर्ने गरिन्छ। अग्रिम आयकर वापतको ४० प्रतिशत बुझाउने महिना भएकाले धेरै राजस्व उठ्ने गर्छ। तर, चालु वर्षको सुरुवातदेखि नै लक्ष्य अनुरुप राजस्व उठ्न सकेको छैन। पुसमा अपेक्षाकृत राजस्व नउठे वित्त नीति नै परिवर्तन गर्नुपर्ने दबाबमा अर्थ मन्त्रालय छ।

मन्त्रालयको पहिलो मुद्दा नै सरकारी खाता कसरी सन्तुलनमा ल्याउने भन्ने छ। कम राजस्व उठ्दा र चालु खर्च बढ्दा ३१ वर्ष यताकै कमजोर स्थितिमा सरकारी खाता रहेको छ।  

यो महिना ठूला करदाता कार्यालयबाट ४२ अर्ब अर्ब ४३ करोड आयकर उठाउने लक्ष्य लिइएको छ। तर लक्ष्य पुरा हुन भने निकै कठिन देखिएको छ। यस्तै मध्यमस्तरीय करदाता कार्यालयबाट ६ अर्ब ६३ करोड आयकर असुल हुने लक्ष्य राखिएको छ।

सरकारले पुसमा आन्तरिक र भन्सार महसुल गरी १ खर्ब ८७ अर्ब लक्ष्य राखेको छ। जसमा गैरकर राजस्व २२ अर्ब १२ करोड लक्ष्य छ।

यो महिना भन्सार महसुल आयाततर्फ २२ अर्ब ४९ करोड उठाउने लक्ष्य छ। मूल्य अभिवृद्धि कर (भ्याट) ३४ अर्ब ५४ करोड उठाउने लक्ष्य लिएको छ। यस्तै अन्त:शुल्क १९ अर्ब ३१ करोड लक्ष्य राख्दा उत्पादन बिक्री र सेवामा ११ अर्ब ८१ करोड राजस्व उठाउने लक्ष्य लिएको छ।              

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बुधबार पुस २७ सम्म सरकारले ४ खर्ब राजस्व उठाएको छ। तर यो गतवर्षको सोही अवधिको तुलनामा ८८ अर्बभन्दा बढीले कम हो।