१४०० रुख काटिएको विषयमा छानबिन गर्न सहायक सिडिओको संयोजकत्वमा समिति बन्यो



२०७९ पुष २८ गते २१:२६
१४०० रुख काटिएको विषयमा छानबिन गर्न सहायक सिडिओको संयोजकत्वमा समिति बन्यो


काठमाडौं। अनधिकृत रुपमा १४०० रुख काटिएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय दाङले समिति गठन गरेको छ।

Tata
GBIME

सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सावित्रा पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा जिल्ला वन कार्यालयका अधिकृत, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर, अनुसन्धान अधिकृत लगायत रहेका छन्।

मंगलबार गठन भएको छानबिन समितिले फिल्ड भिजिटका लागि कार्यदल समेत बनाइसकेको सहायक सिडिओ पुनले बताइन्। ‘कार्यदल बनेको छ। दाङमा विशेष पर्वका रुपमा मनाइने माघी सुरु हुँदैछ। सरकारी बिदा पनि छ। काममा खटाउन गाह्रो हुन्छ। त्यही भएर कति दिनमा प्रतिवेदन तयार पार्ने भनेर हामीले समय तोकेका छैनौं,’ उनले भनिन्, ‘जतिसक्दो छिटो फिल्ड भिजिट गरेर प्रतिवेदन तयार पार्नेछ।’

सो प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेस गरिनेछ। त्यसपछि हुने निर्णयका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ।

करिब चार साताअघि दाङको लमही-भालुवाङ सडकको सीमांकनमा पर्ने करिब १४०० वटा रुख रातारात काटिएको थियो। सडक विस्तारको कुनै योजना नरहेको ठाउँमा रुख काटिदा शंकास्पद रुपमा हेरिएको छ।

एमसीसी कम्प्याक्ट अन्तर्गत दाङमा ७७ किमी सडक मर्मत गर्ने योजना छ। यही ७७ किमीभित्र यो खण्ड पनि पर्छ। प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नै तयार नभएको स्थानमा रुख काटिएको भन्दै एमसीए-नेपालले समेत अब्जेक्सन जनाएको छ। बदनाम गराउन रुख काटिएको भन्दै सडक मर्मतको योजनाबाट हात झिक्ने विषयमा समेत एमसीसीको हेडक्वार्टरमा छलफल भएको छ। एमसीए-नेपालले कुन प्रयोजनका लागि रुख काटिएको हो भन्दै वन र सडकलाई पत्र लेखेको छ।

आफ्नो सीमांकन पर्ने रुख काटिएको भन्दै सडक विभागले छानबिन गरेर दोषीलाई कारबाही गर्न भन्दै पत्राचार गरेको थियो। सरकारी सम्पत्ति हिनामिना गरेको कसुरमा कारबाही गर्न माग गरेको थियो। सोही आधारमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको हो।


Sunrise Bank