विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण, आर्थिक वृद्धिदर १.७% मा सीमित हुने

बिजमाण्डू
२०७९ पुष २७ गते १४:४७ | Jan 11, 2023
विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण, आर्थिक वृद्धिदर १.७% मा सीमित हुने

काठमाडौं। विश्व बैंकको पछिल्लो तथ्यांकले विश्व अर्थतन्त्रमा मन्दी देखिने प्रक्षेपण गरेको छ। विश्व बैंकले गत जुनमा आर्थिक वृद्धि ३ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर विश्व बैंकले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा मात्र १.७ प्रतिशतमा सीमित हुने अपेक्षा गरेको छ।

Tata
GBIME
Nepal Life

प्रतिवेदनले युक्रेन र रूसबीच चलिरहेको युद्ध तथा कोरोना महामारीको प्रभावबाट उत्पन्न विविध कारणले गर्दा विश्व अर्थतन्त्रमा संकट आएको उल्लेख गरेको छ। 

यसबाहेक आउँदो मन्दीको अर्को मुख्य कारण उच्च ब्याज दर पनि हो। निरन्तर बढी रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदै लगेका छन्। उच्च ब्याजदरको प्रभावलाई निस्तेज गर्न विश्वभरका नीति निर्मातालाई ठूलो चुनौती थपिएको छ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले यो मन्दी विश्वव्यापी हुने र विश्वका लगभग सबै भागमा मानिसको आम्दानीमा वृद्धि ‘कोभिड-१९ अघिको दशकको तुलनामा सुस्त हुने’ बताएका छन्।

सन् २००९ को विश्वव्यापी वित्तीय संकट र कोभिड-१९ महामारीलाई पन्छाउने हो भने सन् १९९१ पछिको सबैभन्दा कमजोर वृद्धिदर हो। आर्थिक वृद्धि सन् २०२२ मा ३.२ प्रतिशतमा ओर्लिएको हो, जुन २०२१ मा ६ प्रतिशत थियो।

विश्व बैंक अनुसार अमेरिका, यूरोपेली देशहरू (यूरोजोन) र चीन – आर्थिक वृद्धिका लागि विश्वका तीन सबैभन्दा प्रभावशाली क्षेत्रहरू ‘सबै स्पष्ट रूपमा कमजोर अवधिबाट गुज्रिरहेका छन्’। जस कारण गरिब देशहरूले सामना गर्ने समस्याहरू झन-झन बिग्रँदैछ।

महामारीबाट बाहिरिँदै गरेको वर्ष सन् २०२१ मा ५.३ प्रतिशतले भएको विश्वका धनाढ्य देशहरूको आर्थिक वृद्धिदर गत वर्ष झरेर २.५ प्रतिशतमा सिमित भएको थियो। यस वर्ष आर्थिक वृद्धिदर तीव्र रूपमा सुस्ताउँदै  केबल ०.५ प्रतिशतमा सीमित भएको छ। 

विगत दुई दशकमा आर्थिक वृद्धिदरमा आएको तीव्र गिरावटले विश्वव्यापी मन्दीको पूर्वचित्रण गरेको विश्व बैंकले चेतावनी दिएको छ। साथै बैंकले मन्दी तीव्र तथा लामो समयसम्म चल्ने पनि अनुमान गरेको छ।

यदि यो वर्ष विश्वव्यापी आर्थिक मन्दी आयो भने, सन् १९३० पछि एउटै दशकमा दुईवटा विश्वव्यापी मन्दी आएको यो पहिलो पटक हुनेछ।

****

उच्च मुद्रास्फीति विश्वव्यापी अर्थतन्त्र संघर्ष गर्नुको मुख्य कारण हो। रूस-युक्रेन युद्धले खाद्यान्न आपूर्तिमा ठूलो धक्का पुर्‍यायो। साथै यसै युद्धका कारण पश्चिममा देशहरू रुसी फोसिल इन्धनबाट टाढा धकेलिन पुग्यो। जस कारण गत वर्ष विश्वभर खाद्यान्न र ऊर्जाको मूल्य बढ्न पुग्यो।

अहिले भने यी दबाबहरूमा केही सुधार आएसँगै विश्व बैंकले मूल्यवृद्धिको विश्वव्यापी गति गत वर्षको  ७.६ प्रतिशतबाट यो वर्ष ५.२ प्रतिशतसम्म कम हुने अपेक्षा गरेको छ।

यद्यपि, केही ‘मूल्य स्पाइक’ भने हुन सक्ने विश्व बैंकको विश्लेषण छ। विश्व बैंकले ऊर्जाको मूल्य सामान्य रूपमा घट्ने अपेक्षा गरेको छ।  विश्वव्यापी उत्पादनमा भएको वृद्धि र युरोपमा रहेको कम मागलाई औंल्याउँदै सो अनुमान गरेको हो। युरोपमा आएको ऊर्जा संकटलाई मध्यनजर गर्दै व्यवसाय र घरपरिवारलाई ग्यासको प्रयोग घटाएका छन्।

यस वर्ष खाद्यान्न तथा बालीको मूल्य पनि पाँच प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। यद्यपि यो मूल्य केही वर्ष अघिको तुलनामा उल्लेखनीय रूपमा उच्च हुने बताइएको छ। गत वर्ष बालीको मूल्य १३ प्रतिशतले बढेको थियो।

केही सुधारका बाबजुद विश्व बैंकले मुद्रास्फीति सामान्यतया स्वस्थ मानिने २ प्रतिशत दर भन्दा माथि रहने अनुमान गरेको छ।

मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिका र बेलायत लगायत दर्जनौं देशहरूमा केन्द्रीय बैंकहरूले  ब्याजदर बढाइरहेका छन्।

विश्व बैंकका अनुसार उच्च ब्याजदरले व्यवसायिक लगानीलाई बाधा पुर्‍याएको छ भने कैयौं कम्पनीहरूले ऋणका कारण संघर्ष गरिरहेका छन्।

 विकासोन्मुख अर्थतन्त्र भएका देशहरु पनि अमेरिकी ब्याजदरका कारण संकट तर्फ धकेलिरहेका छन्। धेरै विकासोन्मुख राष्ट्रका अर्थतन्त्रले अमेरिकी डलरमा कर्जा लिने हुँदा आर्थिक चपेटामा परिरहेका छन्।

बैंकले विश्वव्यापी अर्थतन्त्र ‘दबाबमा’ हुँदा पनि सही सरकारी नीतिहरूले आशा दिन सक्ने बताएको छ। साथै यसले लगानी बढाउन र रोजगारी सृजना गर्न, जलवायु परिवर्तनसँग जुध्न, गरिब देशहरूको ऋणलाई सम्बोधन गर्न र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उपायहरू सिफारिस गरेको छ। (बीबीसीबाट साभार)