
काठमाडौं। नेपालका लागि भारतबेन्च कमर्सियल भेहिकल बिक्री गर्ने आधिकारिक कम्पनी ओम्नी मोटर्स प्रालिले २०२१/२२ मा २ अर्ब २८ करोड १० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको व्यापार २०२२ मा १३ प्रतिशतले बढेको छ।
२०२०/२१ मा कम्पनीले २ अर्ब १ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा १ अर्ब ४१ करोड २० लाख, २०१८/१९ मा १ अर्ब ९८ करोड ७० लाख र २०१७/१८ मा १ अर्ब ७७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।
११ वटा आफ्नै शोरुममार्फत कम्पनीले सवारीसाधन बिक्री गरिरहेको छ। कम्पनीले मझौला तथा हेभी-ड्युटी ट्रकको व्यापार गर्छ। २५२३ सी मोडलको टिपर बिक्रीबाटै कम्पनीले २०२२ मा कुल आम्दानी को ७२ प्रतिशत हिस्सा आर्जन गरेको छ।
कम्पनीले १ अर्ब २१ करोड ५५ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन:पुष्टि गराएको छ। १ अर्ब २१ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लगि एनपी ए फोर रेटिङ पुन:पुष्टि गराएको छ। ५ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ घटुवा भएर एनपी एलबी प्लसबाट एनपी एलबी माइनसमा झरेको छ।
कम्पनीमा ५ जनाको सेयर स्वामित्व छ। राजेन्द्र काबरा, दीपंकर काबरा, विनय काबरा, उद्यन काबरा र सन्दीपकुमार मोहताको लगानी कम्पनीमा छ। राजेन्द्र काबरा कम्पनीको अध्यक्ष छन्।