अन्न सुरक्षामा माइलस्टोन प्रोजेक्टले आइपीओ ल्याउँदै, असारसम्म ५५ हजार टनको भण्डारण गृह

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ पुष १४ गते १५:२७ | Dec 29, 2022
अन्न सुरक्षामा माइलस्टोन प्रोजेक्टले आइपीओ ल्याउँदै, असारसम्म ५५ हजार टनको भण्डारण गृह


काठमाडौं। १ अर्ब ६२ करोड रुपैयाँ लगानीमा देशका तीन स्थानमा कृषि भण्डारण गृह निर्माण गरिरहेको नेपाल वेयरहाउजिङ कम्पनीले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले जारी पुँजीको २० प्रतिशत हिस्सा सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्ने कम्पनीका प्रमुख वित्तीय अधिकृत मुकुन्द भुसालले जानकारी दिए। 

‘हामी आइतबार तिरै नियामक धितोपत्र बोर्डमा आइपीओ निष्कासन गर्न सम्बन्धमा निवेदन दिँदैछौं। हाम्रो अपेक्षा सेबोनको स्वीकृति आएर असार भित्रै सर्वसाधारणहरुलाई सेयर जारी गर्छौं भन्ने छ। हामी १०० रुपैयाँको अंकित मूल्यमा आइपीओ जारी गर्छौं,’ भुसालले बिजमाण्डूसँग भने। 

कृषिको भण्डारण गृह क्षेत्रमा आइपीओ जारी गर्ने पहिलो कम्पनी सम्भवत नेपाल वेयरहाउजिङ भएको बताइएको छ। निर्माण गरिरहेको भण्डारण गृह आगामी असारसम्ममा सक्ने भएको छ। कुल ५५ हजार टन क्षमताका तीनमध्ये एउटा युनिट संचालनमा आइसकेको छ भने बाँकी दुईवटा निर्माणाधीन छन्।

सुनसरीमा १५ हजार टन क्षमताको भण्डारण गृहको निर्माण सकिएर बुकिङ समेत खुलिसकेको छ। २०२२/२३ को पहिलो तीन महिनामा कम्पनीले सुनसरीको भण्डारण गृहमा बुकिङमार्फत १ लाख ८८ हजा ५६७ रुपैयाँ उठाइसकेको छ। 

२५ हजार टनको पर्सा युनिट र १५ हजार टनको कपिलवस्तु युनिट भने निर्माणाधीन रहेको कम्पनीले जनाएको छ। गत मंसिरसम्म पर्सा युनिटको वित्तीय प्रगती ८२ प्रतिशत छ। पर्सा युनिटको निर्माण आगामी चैत भित्र सकिने बताइएको छ। उता कपिलवस्तु युनिटको निर्माण भने केही पछि परेको छ। मंसिरसम्म यो युनिटको वित्तीय प्रगती जम्मा ३२ प्रतिशत छ। यसको निर्माण भने आगामी असारसम्म सकिने कम्पनीले जनाएको छ। 

सुनसरी, पर्सा र कपिलवस्तु धान, मकै र गहुँ उत्पादनमा देशकै धनी क्षेत्र भएकाले भण्डारण गृह यिनै क्षेत्रलाई लक्षित गर्दै निर्माण गरिएको कम्पनीले जनाएको छ। सरकारी तथ्यांक अनुसार यो क्षेत्रले धान, मकै र गहुँको कुल उत्पादनको ६२ प्रतिशत हिस्सा ओगट्छ। 

भण्डारण गृहमा भण्डारणका साथै अक्सन व्यवस्थापन, ल्याब परीक्षण र सामग्री ढुवानी लगायतका सेवाहरु उपलब्ध हुने छ। कृषिमा आधारित यो भन्डारण गृह समग्रमा जोड्दा देशकै ठूलो भएको कम्पनीले जनाएको छ।     


अरु भन्डारण गृहभन्दा के फरक?
कम्पनीले निर्माण गरिरहेको कृषि भण्डारण गृह अन्य गोदाम वा खुला घर जस्तो नहुने भुसालले जानकारी दिए। 

‘हामीले साइलोमा भण्डारण गर्छौं। यसले अन्नलाई लामो समय सुरक्षित बनाउँछ। अन्नको तापक्रम, मोइस्चर सबै नियन्त्रित हुन्छ। ग्राहकहरुले त्यहाँ जे जति भण्डारण गर्नुहुन्छ, त्यसविरुद्ध हामी वेयरहाउस रिसिप्ट दिन्छौं। यो अन्तर्राष्ट्रिय अभ्यास हो। रिसिप्ट नेगोसिएसबल इन्ट्रुमेन्ट हो। जग्गाको लालपुर्जा जस्तै कुनै किसानले मकै उत्पादन गर्नु भयो र हामीसँग १० टन भण्डारण गर्नुभयो भने त्यसबराबरको मात्रै वेयरहाउस रिसिप्ट पाउनुहुन्छ,’ भुसालले भने, ‘यदि किसानलाई ऋण चाँहिदैन भने आफैं राख्दा भयो। ऋण चाहिन्छ भने त्यही रिसिप्ट बैंक लिएर गएको खण्डमा प्रक्रिया पुर्‍याएर सहुलियत दरमा कर्जा पाउनुहुन्छ।’

त्यसैगरी, कम्पनीले भण्डारण गरिएका अन्नको अक्सन समेत गर्ने गर्छ। सिजनमा उब्जिएको अन्न अफसिजनसम्म भण्डारण गर्दा किसानहरुले बढी मोल पाउने अवस्था हुने भएकाले अक्सनको सुविधा पनि आफूहरुले प्रदान गर्ने भुसालले जानकारी दिए। किसानहरुले आफूलाई सही लागेको मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न पाउनेछन्। 

भण्डारण गरुञ्जेल किसानहरुले आफ्नो उत्पादनको बीमाको सुविधा पनि पाउने छन्। कुनै अप्रिय घटना घटेपनि किसानहरुको मेहेनत खेर जान नदिने व्यवस्था गरिएको भुसालले बताए। 

कम्पनीमा मुख्य लगानी निम्बस समूहको छ। कम्पनीमा निम्बसको ३६ प्रतिशत स्वामित्व छ भने उसको सहायक कम्पनी प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेडको २८ प्रतिशत हिस्सा छ। 

यस्तै, शिखर इन्स्योरेन्सको १०.९१ प्रतिशत, नेपाल इन्फ्रास्टक्चर बैंकको ९.०९ प्रतिशत, एनएमबि बैंक र आइएमई जनरल इन्स्योरेन्सको समान ३.६४ प्रतिशत हिस्सा छ। कम्पनीको अध्यक्ष आनन्द कुमार अग्रवाल (बगरिया) छन् भने दिप प्रकाश पाण्डे, सतिशचन्द्र श्रेष्ठ र सोनम लामा भने निर्देशक छन्। जय मुकुन्द खनाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन्।