टाटाको सस्तो विद्युतीय गाडी ‘टियागो इभी’ को मूल्य जनवरीबाट बढ्दै, नेपाली बजारमा २ महिनापछि

बिजमाण्डू
२०७९ पुष ८ गते ०९:४८ | Dec 23, 2022
टाटाको सस्तो विद्युतीय गाडी ‘टियागो इभी’ को मूल्य जनवरीबाट बढ्दै, नेपाली बजारमा २ महिनापछि

काठमाडौं। भारतीय सवारी निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो सबैभन्दा सस्तो विद्युतीय गाडी 'टियागो इभी' को मूल्य जनवरीबाट बढाउने भएको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्य बढेका कारण कारको मूल्य बढाउनु परेको जनाएको छ।

Tata
GBIME

हाल अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्य ३५ प्रतिशतसम्मले वृद्धि भएको छ।

कम्पनीले टियागो इभीको सुरुवाती मूल्य भारतमा भारु ८ लाख ४९ हजार निर्धारण गरेर बिक्री थालेको थियो। उक्त मूल्य पहिलो २० हजार युनिटका लागि मात्र लागु हुने र त्यसपछि मूल्य वृद्धि हुने कम्पनीले यसअघि नै घोषणा गरेको थियो।

तर, अहिले उक्त कारणले भन्दा पनि ब्याट्रीको मूल्य बढेकाले गाडीको मूल्य बढाउन लागिएको जनाएको छ। टियागो इभी नेपाली बजारमा भने अब अलि महँगो भएर आउने भएको छ। यसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यसलाई अबको दुई महिनापछि नेपाल ल्याउने तयारी गरेको छ।

कम्पनीले भारतमा हाल बुकिङ भएका टियागो इभी ग्राहकलाई जनवरीको मध्यबाट डेलिभरी शुरु गर्ने योजना बनाएको छ। त्यसपछि मात्र टाटाले अन्य देशका लागि निर्यात गर्ने जनाएको छ। त्यही अनुसार टियागो इभी नेपाल आउन अझै दुई महिना लाग्ने कम्पनीले जनाएको छ।

नेपाली बजारमा यो कारको मूल्य २३ लाख हारहारीबाट शुरु हुने अनुमान छ।