
काठमाडौं। कुनै मठ-मन्दिर, पर्यटकीय स्थल पुग्दा त्यसका बारेमा बुझ्न कसैलाई सोध्नु परेन भने के गर्नुहुन्छ? प्रवेशद्वारको बोर्डमा क्युआर कोड छ, स्क्यान गर्यो, मोबाइलबाट पढ्यो वा सुन्न मन लागे सुन्यो। प्रविधिको जमानामा कति सजिलो ! उपत्यकाको बुढानिलकण्ठ मन्दिर, ठमेल, जनकपुर होस् वा काभ्रेको पलाञ्चोक भगवती, हतार नगरी हेर्नुस् क्युआर कोड भएका बोर्ड छन्। स्क्यान गरेको निमेषमै जानकारी तपाइँका हातमा।
कुनै मन्दिर, गढी, दरबार, प्राकृतिक सम्पदा। सबैका इतिहास र फरक कथा छन् र, जानकारी दिने सुविधा विस्तारित भइरहेको छ। घुमन्तेको जिज्ञासा मेट्न अंग्रेजी, नेपाली र सम्भव भएसम्म धेरै भाषामा क्युआरमार्फत त्यसरी जानकारी दिने प्रणाली राख्ने काम हठात् सुरु भएको भने होइन। यसको रोचक कथा छ।
घुम्न गएका ठाउँको महत्त्व बारे जानकारी सजिलै नपाइनुलाई समस्या देखेका युवा सुशान्त गैरे(२३), सचिन डाँगी(२३) र दिवाकर रिजाल (२३)ले समाधान खोजेका हुन्। किङ्स कलेजमा बीबीए गर्दै रहेका यी तीन साथीले सारङ वेबमा आधारित प्लेटफर्म सृजना गरेका छन्। यसले नेपालभरका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाहरू लगायत स्थलहरूसँग सम्बन्धित कथाहरूका स्वदेशी तथा विदेशी पर्यटकहरूको माझमा पस्केर उनीहरुको यात्रा अनुभवलाई थप रोमञ्जचक र अर्थपूर्ण बनाइरहेको छ।
सारङका प्रमुख कार्यकारी अधिकृत सचिनले प्रडक्ड डेभलपमेन्ट र टिम व्यस्थापन हेर्छन् र दिवाकर कन्टेन्ट/कथाहरू पनि लेख्छन्। साथै अनुसन्धानको पाटो पनि सम्हाल्छन्। त्यस्तै, सुशान्तले बोर्ड प्लेसमेन्ट र प्रविधि हेर्छन्। यो टोलीमा जोडिएका आइटी अध्ययन गर्दै गरेका २२ वर्षीय आशिष कटुवालले सोसल मिडिया कन्टेन्ट बनाउने जिम्मा लिएका छन्।
उनीहरुको टिमले लगातार सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाहरूका महत्त्व र इतिहास जान्न रुचि राख्नेलाई सितैं जानकारी पाइने सजिलो बाटो दिएको छ।
***
कोभिड संक्रमणको पहिलो लहर भर्खरै थामिएको थियो। लकडाउन पनि केही खुकुलो भएको थियो। सधैं कोठामै थन्किएर बस्दा बस्दा सुशान्त, सचिन र दिवाकर वाक्क भएका थिए। खुला परिवेशमा रमाउने दिन छिटै आएन। कोरोनाको दोस्रो लहर आइहाल्यो। फेरि त्रासबीच देश पुन: लकडाउन गयो।
स्नातक तह दोस्रो वर्ष अध्ययन गर्दै रहेका उनीहरुलाई कलेज बन्दले फुर्सद भयो। लकडाउनका बीचमा उनीहरु काठमाडौंबाट केही पर मकवानपुरको चिसापानीगढी पुगेका थिए। तर त्यो बन्द थियो। बाहिर ताला थियो।
एकछिन त उनीहरु ऐतिहासिक स्थल पुग्दा पनि अवलोकन गर्ने र त्यसको बारेमा जान्ने अवसर गुम्यो भनेर झन्डै फर्किइ नै सकेका थिए। तर, यात्रालाई फलदायी बनाउन केही उपाय लगाउने विचार गरे। वरपरका गाउँलेसँग गढीका विषयमा कुरा गरे।
उनीहरुले त्यहाँका पुजारीको सम्पर्क नम्बर पाए, फोन गरे। ‘लगभग एक घण्टा पर्खाइपछि उहाँ आउनुभयो र गढीको ढोका खोल्नु भयो। उहाँले गढीको इतिहास बारेमा हामीलाई सुनाउनु भयो,' सचिनले भने, 'एङ्ग्लो-नेपाल युद्धको बेला कसरी कहाँबाट शत्रुले आक्रमण गरे र नेपाली पक्षले कति वीरतापूर्वक लडेका थिए भन्ने सबै कथाहरु सुनाउनु भयो। गढीको बारेमा निकै चाखलाग्दो कुराहरु पनि सुनाउनु भयो।’
भ्रमण सफल भयो। उनीहरु दंग भएर फर्किए। तर, सचिनको मनमा भने केही कुरा खेलिरहेको थियो। ‘पुजारी बाजेलाई नभेटेको भए, गढीको ढोका नखुलेको भए, भ्रमण निर्थक हुन्थ्यो। गढीको कथा पुजारीसँग नै सीमित हुन्थ्यो,' उनी सुनाउँछन्, 'यस्तो कथाहरु बोकेका कति स्थलहरु होलान्। हामी त नेपाली भयौं, भाषा बुझ्न सक्छौं। पुजारीलाई भेट्न पायौं र गढीको इतिहास बारेमा बुृझ्ने मौका पायौं। पर्यटकले कसरी सजिलै बुझ्लान्?’
नेपाल घुम्न संसारका विभिन्न भागबाट पर्यटक आउँछन्। उनीहरुका भाषामा विविधता छन्। आन्तरिक पर्यटकलाई पनि विभिन्न स्थानका जानकारी सजिलै पाइने व्यवस्था भए घुम्न गएका ठाउँप्रति अपनत्व बढ्छ। यी तीन युवालाई एउटा यही यात्राले सारङ सुरु गर्न प्रेरणा दियो।
***
सचिनले आफ्ना शिक्षकहरुलाई आइडिया सुनाए। उनीहरुले उचित ठहर गरे। सुरुको कोरा आइडियालाई आकार दिन सल्लाह-सुझाव प्राप्त भयो। शिक्षकहरुको सहयोगले उनीहरुले आफ्नो कलेजको ६ महिने इन्क्युबेसन कार्यक्रममा भाग लिए। जसमा उनीहरूले सचिनको आइडियालाई सारङ प्लेटफार्ममा परिणत गरे।
सारङ प्लेटफर्म तयार गर्ने क्रममा उनीहरु काठमाडौंको विभिन्न पर्यटकीय स्थलहरु जान्थे। सुशान्त सम्झन्छन्, ‘हामीले पर्यटकहरूसँग कुरा गर्यौं, जसबाट उनीहरुले पनि हामीले चिसापानीमा गरेजस्तै असजिलो अनुभव गरिरहेको थाहा पायौं। भाषा तथा अन्य समस्याका कारण पर्यटकीय स्थलहरुको कथा थाहा पाउन नसकेका तर जान्न उत्सुक पर्यटकहरुको लागि सारङले राम्रो काम गर्ने निष्कर्ष हामीले निकाल्यौं र काम थाल्यौं।'
यो आइडिया थियो – कुनै पनि ठाउँका बारेमा जानकारी दिन त्यहाँ कतै बोर्ड राख्ने, त्यसमा क्युआर कोड हुनेछ। त्यसलाई स्क्यान गरे एउटा वेबसाइटमा पुगिन्छ, जसबाट त्यो ठाउँका बारेमा विस्तृत जानकारी अडियो-भिडियो पाइन्छ। पढ्न चाहनेले सजिलै पढ्न पनि सक्छन्।
आइडियालाई सुन्ने जो कसैले सराहना गरे पनि यसका लागि विद्यार्थीहरुले लगानी गरेर सुरु गर्न सम्भव थिएन। कुन मठ-मन्दिर, सम्पदा र पर्यटकीयस्थल कुन स्थानीय तहमा पर्छ, उक्त स्थानीय सरकार त्यसका लागि लगानी गर्न तयार हुन्छ/हुँदैन भन्नेमा द्धिविधा थियो। आफ्नो आइडिया लिएर उनीहरु विभिन्न नगर र गाउँपालिकाहरु धाउन थाले। शुभारम्भ गत वर्षको मंसिरताका बुढानिलकण्ठ नगरपालिकाबाट भयो।
सारङले बुढानिलकण्ठ मन्दिरको इतिहास र महत्त्वको डिजिटल अभिलेख तयार पार्यो। उक्त मन्दिरको द्धारमा क्यूआर कोडसहितको बोर्ड राखियो।
‘१० बाइ १२ इन्चको बोर्डमा राखेको क्युआर कोड आफ्नो मोबाइलबाट स्क्यान गरेर जो कसैले इतिहास, महत्त्व र जोडिएका कथा सुन्न-पढ्न सक्छन्,' दिवाकर बुझाउँछन्, 'हाम्रा लागि यो आइडियामा गर्ने काम धेरै थियो।' बुझिने भाषामा जानकारी दिने व्यवस्था मिलाउने काम हुँदै गयो।
***
कुनै पनि ठाउँमा पर्यटक आगमनको अवस्था अध्ययन गरेर जानकारी दिन कुन-कुन भाषा समेट्ने भन्ने निर्धारण गरिने सुशान्त बताउँछन्। ‘हामीले लुम्बिनीमा त्यहाँको जानकारी थाइ भाषा पनि अनुवाद गर्न मिल्ने बनाएका छौं। काठमाडौंको भग्वानबहालमा नेवा: भाषा र पलाञ्चोक भगवती मन्दिरमा मगर भाषा पनि समेटका छौं,’ उनले भने, 'घुम्न पुगेकाहरुले आफूले सजिलोसँग बुझ्ने भाषा नै रोज्छन्।'
उनका अनुसार सारङले काम थालेयता लुम्बिनी, जनकपुर, पलाञ्चोक भगवती, ठमेल, दक्षिणकाली लगायत १०० भन्दा बढी स्थलहरुमा क्यूआर कोडसहितका बोर्ड इन्स्टल गरिएको छ। कतिपय ठाउँमा स्थानीय तह र पर्यटन समितिले यसको महत्त्व बुझेर हातेमालो गरेका छन्, कतिपयले अझै आफ्नो ठाउँको महत्त्वको प्रचारका लागि यो फरक विधालाई प्रष्ट बुझिसकेका छैनन्।
‘जुनसुकै ठाउँका जानकारी बटुल्नु, त्यसलाई लेख्नु, सजिलो काम होइन,' दिवाकर सुनाउँछन्, 'हामीले प्राय: स्थानीय तहहरु, सम्बन्धित निकायहरुमा रहेका जानकारी र कथाहरु संकलन गर्छौं। तर सधैं त्यति सजिलै पाइदैन। समुदायका जान्नेबुझ्नेहरुको कथाहरुको भिन्नाभिन्नै भर्जनहरु हुन्छन्। कुन कति सही भन्ने नै अलमल हुन्छ। हामी सधैं स्थानीय तहले पुष्टि गरेका जानकारी मात्रै प्लेटफार्ममा राख्छौं।’
प्रविधिमा आधारित यो प्रणालीका लागि उत्साहित जमात युवा छन्, जो जिम्मेवार ठाउँमा निकै कम छन्। कर्मचारीलाई प्रस्तावबारे बुझाउनै गाह्रो छ। सरकारी निकायहरुसँग काम गर्नुपर्ने हुँदा प्रस्ताव लिएर जाँदा उनीहरुले सम्बन्धित अधिकारीहरु भेट्न नै हप्ता दिनसम्म कुर्नु परेको पनि छ।
सचिन सुनाउँछन्, ‘हाम्रा सरकारी कार्यालयहरुमा प्राय चिनजानको भरमा काम हुने गर्छ। विना चिनजान सम्बन्धित अधिकारीहरु भेट्न गाह्रो छ। हामी कार्यालयको रिसेप्सनमा बस्नेहरूलाई सम्पर्क गर्दै प्रस्तावको प्रक्रिया अघि बढाउँछौं। पास हुन सजिलो छैन।'
'एक त हामी युवा, आइडियालाई राम्रो भनिहाले पनि हामीलाई पत्याउन सजिलो मान्दैनन्, पन्छिन्छन्,' दिवाकर थप्छन्, ‘उनीहरूले कहिले चाडपर्व, कहिले निर्वाचन, कुनै बेला वर्षको अन्त्य, कहिले के कहिले के बहानामा प्रस्तावलाई पर सार्छन्। यो नयाँ काम हो, गरिहाल्नुपर्छ भन्ने कर्मचारी निकै कम भेटिन्छन्।’
सन् २०२१ फेब्रुअरीमा रिसर्च कम्पनीको रुपमा दर्ता भएको सारङको नाम उनीहरुले सारंगीबाट जुटाएका हुन्। सचिन भन्छन् ‘सारंगी बजाउँदै कथा सुनाउने हिड्छन्, हामीले पनि कथा भन्ने माध्यम भएकाले सारङ नाम छनोट गरेका हौं।' पोखराका बिभिन्न स्थानमा आफ्नो क्यूआर बोर्डहरु राख्ने तयारी गर्दै रहेको उनले बताए।
अहिलेसम्म सञ्चालित प्लेटफार्मबाट आगन्तुकले जानकारी लिन इन्टरनेट कनेक्सन आवश्यक छ। अब उनीहरु इन्टरनेटबिनै जानकारी दिने उपायमाथि काम गर्दैछन्। त्यसका लागि मोबाइल एप ल्याउन गृहकार्य भइरहेको छ।
मोबाइल एपले स्वदेशी/विदेशी पर्यटकहरूलाई आफू पुगेका ठाउँका कथाहरू सुन्न-पढ्न बाहेक पनि गाइडेड टुर र नजिकका घुम्ने, खाने, बस्ने ठाउँहरू सिफारिस गर्नेछ।